काठमाडौं । अहिले अमेरिकाको सदनमा देखिएको गतिरोधका कारण अमेरिकाको कर्जा शाखको स्तर गिर्ने खतरा बढेको छ । कर्जाको सीमा बढाउने विषयमा अहिले जारी विवाद सल्टिने टुंगो छैन । कर्जा सीमा नबढाए अमेरिका इतिहासमै पहिलो पटक डिफल्टमा जानेछ ।
Credit Rating Agency फिचले अमेरिकाको कर्जा शाखलाई ट्रिपल ए मा राखेको छ । तर कर्जा सीमा बढाउने विषयमा संसदमा रिपब्लिकन र डेमोक्रेटका सांसदहरुबीच जारी वार्ता अनिश्चित बनिरहँदा फेचले कर्जा शाखको परिदृश्यलाई नकारात्मकमा राखेको छ ।
अर्थमन्त्री जेनेट येलेनले पनि अमेरिकाले अभूतपूर्व स्तरको डिफल्टको सामना गरिरहेको अनि छिटोमा जुन १ सम्ममा मसहुल कर्जाको भुक्तानी गर्न असक्षम अवस्थामा पुग्ने चेतावनी दिएकी थिइन् । साँच्चै यस्तो स्थिति आयो भने यो अमेरिकाको लागि त विनाशकारी भइहाल्यो । विश्वभर नै विनाश निम्तने छ ।
फिच बाहेकका दुई शीर्ष क्रेडिट रेटिङ एजेन्सीहरु मूडिज र एसएन्डपीले पनि अमेरिकी कर्जा शाखलाई ट्रिपल ए नै दिएका छन् । तर रेटिङ वाचलाई भने नकारात्मकमा राखेका छन् ।कर्जा सीमा बढाउने विषयमा सांसदहरुले सहमति जुटाउन सकेनन् भने तीन ओटै एजेन्सीले अमेरिकी कर्जाको स्तरलाई घटाउने छन् ।
संसदमा बढ्दो धु्रवीकरणले कर्जा सीमा बढाउन वा स्थगित गर्ने उपायमा पुग्नै नसक्ने अवस्था देखा परेको छ । फिचले कर्जा परिदृश्यमा गरेको कटौतीलाई ह्वाइट हाउसले कर्जा सीमा बढाउने हतारोका रुपमा औंल्याएको छ ।
सन् २०११ मा कर्जा सीमा संकट चुलिएको समयमा पनि एसएन्डपीले अमेरिकाको कर्जा शाखलाई घटाइदिएको थियो । अमेरिकाको इतिहासमा यो पहिलो पटक भएको थियो । त्यति बेला एजेन्सीले कर्जा शाखलाई घटाएर डबल एप्लसमा झारेको थियो ।
एक दशकभन्दा बढी समयसम्म पनि एजेन्सीले कर्जा शाखको स्तर पुरानै स्तरमा फर्काएन । अमेरिका डिफल्टमा गयो भने यसको असर सारा विश्व अर्थतन्त्रमा पोखिनेछ । विश्व अर्थतन्त्र नै मन्दीमा जाने विज्ञहरुले चेतावनी दिइरहेका छन् । एजेन्सी