ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कालीगण्डकी करिडोर : गैंडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

२०८० जेठ, १२  
समाचार
Jagdamba Supershine Image Not Found
कालीगण्डकी करिडोर ।

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर (Kaligandaki Corridor)अन्तर्गत गैंडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ । 

कालीगण्डकी करिडोर, गैंडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैंडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताए । ‘एक्जिम बैंक अफ इन्डियाको रू पाँच अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम शुरु भएको थियो,’ उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।’ पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख पौडेलले बताए । 

‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५/२० दिनभित्र सकिन्छ,’ उनले भने, ‘तर, गैंडाकोट–राम्दी खण्डका विभिन्न ६ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।’ यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजना प्रमुख पौडेलले बताए । लामो समय भइसक्दासमेत गैंडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ थियो । 

‘सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैंडाकोट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर, स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्,’ योजना प्रमुख पौडेलले भने, ‘सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र शुरु गरिने छ ।’

योजनाको समग्र प्रगति ५० प्रतिशत 

नवलपुरको गैंडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ । कालीगण्डकी करिडोर, गैंडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजना प्रमुख शङ्कर पौडेलका अनुसार चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईओटा कार्यालयबाट काम भइरहेको छ । गैंडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको उनले बताए । 

‘गैंडाकोट–राम्दी–मालढुङ्गा सडकअन्तर्गत राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने काम सकिए पनि यहाँ यातायात सञ्चालन गर्न सकिएको छैन,’ योजना प्रमुख पौडेलले भने, ‘यो खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौं ।’ रानीमहल–मालढुङ्गा खण्डमा विभिन्न स्थानमा फरक फरक ठेक्का लगाएर सडक निर्माणको काम भइरहेको र त्यहाँको जम्मा भौतिक प्रगति ५० प्रतिशत पुगेकोे उनको भनाइ थियो । 

‘गैंडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ ओटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ ओटा पुल निर्माण भइसकेको छ,’ योजना प्रमुख पौडेलले भने, ‘पन्ध्र ओटा पुल निर्माणको चरणमा छन् । यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने भएको छ ।’ पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने रहेको उनको भनाइ थियो । तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)