काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (Reliable Nepal Life Insurance Limited)ले असार १ गते छैटौं वार्षिक साधारण सभा (Annual General Meeting) बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारितका लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालू आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।
यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. ११२ थप गरी प्रतिकित्ता रू. २१२ मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मूल्यमा रू. २ अर्ब ५४ करोड ४० लाख बराबरको १ करोड २० लाख कित्ता आईपीओ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्डमा कम्पनीले गत मङ्सिर १३ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ । कम्पनीको आईपीओसम्बन्धी आवेदन प्रक्रियाको प्रारम्भिक चरणमै रहेको छ ।