ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यास नगरपालिकाका ९ प्रतिशत योजना सम्झौता हुन बाँकी, ५६ प्रतिशत मात्रै पूरा   

२०८० जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा ६ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।  

नगर प्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौता हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको छ । न्यौपानेले भने, ‘यो एक वर्षको अवधिमा ५६ प्रतिशत योजना सम्पन्न भइसकेको छ भने ३६ प्रतिशत योजना सम्झौता भई नौ प्रतिशत योजना सम्झौता हुन बाँकी छ ।’

यो अवधिमा पूर्वाधारतर्फ केही महत्त्वपूर्ण कार्य भएको नगरप्रमुख न्यौपानेले जानकारी दिए । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्र गर्न रु एक करोड ३० लाखको योजना निर्माण प्रक्रियामा रहेको छ । सङ्घ सरकारसँगको समपूरक योजनाअन्तर्गत खड्गकाली मार्ग कालोपत्र थप निर्माणका लागि टेन्डर भएको न्यौपानेले बताए ।  

विश्व बैंकको सहयोगमा नेपाल सहरी शासकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत परासर मार्ग (घाँसीकुवा–फराकचौर–पोख्रेलफाँट–माँझफाट–नरङ्गा–कलेस्ती) विस्तृत परियोजना प्रतिदेन पुनरावलोकन भइरहेको उनले बताए । 

साथै यही अवधिमा वडा नं ६, १३ र १४ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण शुरु भएको जनाइएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षको अवधिमा व्यास–११ पोल्याङमा शीतभण्डार निर्माण कार्यसम्पन्न भएको, व्यास–१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेकालाई मुख्य उपलब्धिका रुपमा मानेको छ । 

सङ्घ सरकारसँगको विशेष योजनाअन्तर्गत व्यास–५ मानुङकोट लिफ्टिङ खानेपानी आयोजना, व्यास–१४ केशवटार लिफ्टिङ खानेपानी योजना, (गजौडे पुल) को दुई अर्ब ८२ करोडको टेन्डर प्रक्रिया अगाडि बढेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । शिवपञ्चायन क्षेत्रमा एक सय फिट उचाइको व्यास मूर्ति निर्माण कार्य, व्यास–३ बिपी वनवाटिका खेलमैदान, व्यास–११ कोलढुङ्गा क्रिकेट मैदान, व्यास–५ परासर खेलमैदान र चिन्तुटार खेल मैदानलगायत खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । 

चालु आर्थिक वर्षको कूल बजेट रु एक अर्ब ७१ करोड ६५ लाख नौ हजार रहेकामा हालसम्मको कूल आय रु एक अर्ब १३ करोड १३ लाख ८६ हजार नौ सय ८९ रहेको छ । चालुतर्फ ६८ दशमलव २ र पुँजीगततर्फ ३३ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ हालसम्म रु ११ करोड नौ लाख तीन हजार सात सय ४४ सङ्कलन गरेको छ । 

नगरपालिकाले विगत एक वर्षमा नौ वटा विधेयक, १२ कार्यविधि, दुई निर्देशक पारित गरी लागू गरेको जनाएको छ । 

चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश सरकारले समानीकरण बजेटअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरेको र आन्तरिक आम्दानी ५० प्रतिशत मात्रै भएकाले क्रमागत योजनाको चाप र दबाबले लक्षित गरिएका योजना सम्पन्न गर्न कठिनाइ भएको नगरप्रमुख न्यौपानेले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)