संसद्मा माओवादीका एक सांसदले पशुपतिमा चढाएको जलहरी नक्कली भएको अभिव्यक्ति दिएपछि नेकपा एमालेले संसद् अवरूद्ध पार्यो ।
उसले सुशासनको समर्थक र भ्रष्टाचारविरोधी आफू मात्र भएको र अरू सबै भ्रष्टाचारी भएको जस्तो गरी प्रतिक्रिया दिने गरेको छ । त्यसैले सांसदले माफी नमागेसम्म संसद् चल्न नदिने अडान लियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ । यसमा दलहरूको सहमति बनेको छ । संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउने सहमति भएको बताइएको छ । मुलुकको समस्यामा कहिल्यै चासो नदिने दलहरू यस्ता विषयमा भने गम्भीर बन्छन्, संसद् अवरोध गर्छन् र बैठक पनि तुरुन्तै बस्छन् । तर, राष्ट्रिय समस्यामा भने एकअर्कालाई आरोप लगाउँछन् अनि कहिल्यै सँगै बसेर कुनै निर्णय गर्दैनन् । त्यसैले यी दल जनताविरोधी हुन् भन्न सकिन्छ ।
शनिवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रमुख तीन दलले बैठक बसेर पशुपतिको जलहरीको विषयलाई सामसुम पारेका छन् । महालेखा परीक्षकको कार्यालयले सुन कति प्रयोग भएको छ भनी स्पष्ट नभएको उल्लेख गरेको थियो । १ किलो सुन हराएको अनुमान छ । तर, त्यसबारेमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा तीन दल मिलेर सामसुम पारेका छन् । नक्कली भुटानी शरणार्थी समस्या पनि तीन दलले यस्तै गर्न सक्थे तर यसो गरेनन् । यसमा पक्कै पनि विदेशको दबाब छ होला भनेर सहजै भन्न सकिन्छ ।
ठूलाठूला भ्रष्टाचार भए पनि त्यसको ठोस छानबिन गर्दा आफूसमेत परिने भएकाले कुनै पनि दलले स्वतन्त्र छानबिन गर्न दिँदैनन् । यो अघोषित सम्झौता प्रमुख तीन दलबीच भएको छ भन्न सकिन्छ । नत्र एकले अर्कालाई भ्रष्टाचारी भन्ने अनि सत्तामा साझेदार गरुन्जेल एकले अर्कालाई समर्थन गर्ने किन ?
नेपाली जनतालाई बेवकुफ बनाएका हुन् वा जनता आपैm बेवकुफ बनेका हुन् भन्न पनि कठिन देखिन्छ किनभने आफ्नो समर्थनको पार्टीले जे गल्ती गरे पनि आलोचना नगर्ने तर उल्टै अर्को पार्टीलाई दोष लगाउने परिपाटी छ । यस्तो अवस्था रहेसम्म यो मुलुकमा न सुशासन हुन्छ न भ्रष्टाचार कम हुन्छ ।
रोशन देवकोटा,नयाँबजार, काठमाडौं ।