ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई प्रवेशविन्दुमा फेरि रित्तो हात

२०८० जेठ, १४  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालले भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दुका लागि भारतसँग पटक–पटक छलफल गरे पनि अनुमति पाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणअघि नै प्राविधिक रूपमा यी हवाई प्रवेश विन्दुमा सहमति जुटाउन २ दिनअघि भारत पुगेको नेपाली टोली रित्तै हात फर्किएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोली शुक्रवार नेपाल फर्किएको छ । क्रशबोर्डर उडान तथा भैरहवा र महेन्द्रनगर प्रवेश विन्दुका विषयमा प्राविधिक तहबाट सहमति जुटाउने अपेक्षा गरिए पनि उक्त विषयमा छलफल मात्रै भएको मन्त्रालयका अधिकारीले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले यसपटक छलफल मात्रै भएको, ठोस निर्णय नभएको बताए । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा टुंगो लागे लाग्ला, अहिले भने छलफल मात्रै भएको छ,’ उनले भने । प्रधानमन्त्रीको भारत भ्रमणका लागि मन्त्रालयले हवाई प्रवेश विन्दुलाई नै प्राथमिकतामा राखेर योजना बनाएको उनको भनाइ छ । 

भारतीय पक्षले भने यसपटक पनि प्रवेश विन्दुका लागि ‘ग्रीन सिग्नल’ दिएको छैन । नेपालले क्रशबोर्डर उडानको विषय सन् २०१६ देखि नै उठाउँदै आएको छ । नेपालको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष भइसकेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि ५ महीना बित्न लागेको छ । तर, यी विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भइरहेको छैन ।

दातृ निकायबाट सरकारले ऋण लिएर विमानस्थल बनाए पनि पर्याप्त अन्तरराष्ट्रिय उडान नहुँदा यी विमानस्थलकै आम्दानीबाट ऋणको साँवाब्याज भुक्तानी गर्ने अवस्था अझैं बनिसकेको छैन । गत पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट निजीक्षेत्रको बुद्ध एयरले सोही दिनदेखि नै उडान गर्ने योजना बनाए पनि अहिलेसम्म उडान गर्न सकेको छैन ।

भारतले उपर्युक्त प्रवेश विन्दु नदिँदा उडान हुन नसकेका हो । बुद्धले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भने भारतको बनासरमा उडान गर्दै आएको छ । अहिले नेपाल प्रवेशका लागि सिमरा हवाई विन्दुमात्रै भारतले उपलब्ध गराएको छ । नेपालले थप दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै भैरहवा र महेन्द्रनगर हवाई प्रवेश विन्दु उपलब्ध गराउन पहल गर्दै आएको छ । भारतले यसमा आलटाल गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)