काठमाडौं । लगातार सात दिन बढेको बजार साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशत अर्थात् १७ दशमलव ३८ अंक घटेको छ । नेप्से परिसूचक १ हजार ९४१ दशमलव ७४ विन्दुमा झरेको हो ।
बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै आइतवार बजारमा विक्री दबाब परेको देखिन्छ । यस दिनको कारोबार समयलाई हेर्दा अन्तिम प्रहरमा मात्रै विक्रेता हाबी भएका छन् । बजार लगातार सात दिनमा १४० अंक बढेको थियो । यसरी बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै सामान्य करेक्सन आएको जानकाहरू बताउँछन् । पछिल्लो समय केही बैंकहरूले शेयर कर्जा पनि दिन थालेका छन् ।
यतिबेला बजारमा नयाँ ब्रोकरले पनि लाइसेन्स पाएका छन् । यसले पनि बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । यसो त बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने र अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पूँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । लगानीकर्ताका माग सम्बोधन भएमा बजारले नयाँ गति लिने जानकारहरू बताउँछन् ।
यस दिन २६८ धितोपत्रको ७० लाख ४९ हजार ६९९ कित्ता ४७ हजार ६६१ पटकमा रू. २ अर्ब ६३ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै युनिलिभर नेपालको शेयर मूल्य ७ दशमलव १८ प्रतिशत बढेर रू. ३३ हजार पुगेको हो ।
आइतवार सबैभन्दा बढी हिमालय उर्जा विकास कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ४० प्रतिशत घटेर रू. २७८ मा झरेको छ । त्यस्तै दोस्रोमा न्यादी हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशत घटेर रू. २८५ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड ७९ लाख बराबर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको रू. ९ करोड १३ लाख बराबर भएको छ ।
आइतवार दुई समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य १ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव ७७ प्रतिशत घटेको हो ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५१, फ्लोट इन्डेक्स शून्य दशमलव ८९ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत घटेका छन् ।