काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले मानव स्वास्थ्यका लागि पनि पशुहरूको स्वास्थ्यबारे बोध हुनुपर्ने बताएका छन् । मानव जीवन र पशुको सम्बन्ध अन्योन्याश्रित हुने भएकाले मानव जत्तिकै पशुको स्वास्थ्यबारे पनि संवेदनशील हुनुपर्ने बताएका हुन् ।
काठमाडौँमा आजदेखि शुरू भएको महिला पाराभेटेरियनहरूको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै डा. भुसालले पशुजन्य रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि पनि पशुसेवा क्षेत्रलाई मानव स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्ने बताएका छन् । मानवको स्वास्थ्यबारे बहस भइरहे पनि पशुहरूको स्वास्थ्य स्थिति र उनीहरूको उपचारबारे पर्याप्त छलफल नहुँदा रोग संक्रमणको जोखिम बढेका मन्त्री भुसाललको भनाइ छ ।
'मानव पशुमा आश्रित छ, हरेका समय पशुसँग नजिक हुन्छौं पशुको, संक्रमण हामीमा सीधै सर्ने हुँदा पशु स्वस्थ हुनु जरूरी छ,' उनले भने, 'मानिस जीवन निर्वाह तथा व्यवसायका रूपमा पशुपन्छीको पालनपोषण गर्दा पशुको प्रत्यक्ष सम्पर्कमा हुन्छ । रोगी पशुपन्छीको फुल, मासु तथा दूध सेवन गर्दा मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्छ । उक्त असरबारे हामीले सोचेकै छैनौँ ।'
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’विचाराधीन अवस्थामै रहेको तथा केही कर्यविधि/ऐनहरू निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकार गम्भीर रहेको बताए । यस क्षेत्रसँग सम्बन्धित कतिपय ऐन नियमहरू निर्माण गर्नुपर्ने छ, कतिपय विचाराधीन पनि छन्, यसमा सरकार गम्भीर छ,' उनले भने ।
मानव स्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मी र पशुस्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मीको समान भूमिका हुने भन्दै दुवैलाई समान रूपमा हेरिनुपर्नेमा उनले जोड दिए । 'मानव स्वास्थ्यमा काम गर्ने र पशु स्वास्थ्यमा काम गर्ने तपाईंहरूको भूमिका उत्तिकै छ, त्यसैले समान रूपमा हेरिनुपर्छ,' उनले भने ।