काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति आय बढ्ने देखिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतवार संघीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय बढ्ने देखाइएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन रू. १ लाख ६९ हजार ३८ रहेकोमा चालु आर्थिक वर्षमा यस्तो उत्पादन रू. १ लाख ८२ हजार ६ सय ८३ पुग्ने अनुमान प्रतिवेदनमा छ । चालु आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ८.१ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दश वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको औसत वृद्धि ९.९ प्रतिशत रहेको छ ।
अमेरिकी डलरको आधारमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्ष २०७८ / ७९ मा १३९९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा परिवर्तन नहुने अनुमान छ ।
आर्थिक वर्ष २०७९/८० मा प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो आयमा ७.९ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष प्रति व्यक्ति राष्ट्रिय खर्चयोग्य आय अमेरिकी डलर १.७२४ रहेको थियो भने चालु आर्थिक वर्षमा यस्तो आय अमेरिकी डलर १,७५२ पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०७८ / ७९ मा प्रति व्यक्ति कुल राष्ट्रिय आय ( प्रचलित मूल्यमा ) अमेरिकी डलर १,४०७ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा यस्तो आयमा सीमान्त वृद्धि भई अमेरिकी डलर १४१० पुग्ने अनुमान छ ।