काठमाडौं । टर्कीमा रेचेप तैय्यप एर्दोआन तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५२ दशमलव १६ प्रतिशत मतसहित उनी पुनः राष्ट्रपति पदका लागि चुनिएका हुन् । उनका प्रतिस्पर्धी विपक्षी दलका साझा उमेदवार केमल किलिचदारोग्लुले ४७ दशमलव ८६ प्रतिशत मत पाएका थिए ।
एर्दोआनले आफ्ना प्रतिद्वन्द्वीभन्दा झन्डै २२ लाख धेरै मत पाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपतिको चयन गरिएको थियो । विपक्षी दलका नेताले यो जितलाई स्वीकार गरेका छैनन् ।
एर्दोआनसामु बिग्रिँदै गउको अर्थतन्त्रलाई सुधार गर्नेदेखि अन्तरराष्ट्रिय स्तरमा बदलिइरहेको अवस्थासम्मका अनेकौं चुनौती छन् । एर्दोआन सन् २०१४ देखि राष्ट्रपति रहँदै आएका छन् । तर, पछिल्लो समय उनले शक्ति क्रमशः आफूमा केन्द्रित गर्दै लगेका छन् ।
आकाशिएको महँगी नियन्त्रण अहिले टर्कीको मुख्य टाउको दुखाइ बनेको छ । यो तत्कालै समाधान गर्नुपर्ने विषय हो । तर, उनी यसका लागि चाल्नुपर्ने आवश्यक कदमहरू चाल्न तयार छन् त भन्ने प्रश्न मडारिइरहेको छ । टर्कीको मुद्रास्फीति दर अहिले ४४ प्रतिशत रहेको छ ।
खानेकुरादेखि घरभाडासम्मका अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । तर, एर्दोआनले ब्याजदर बढाएर महँगी घटाउनुको सट्टा उल्टै ब्याजदर घटाएर महँगी बढाइरहेका छन् । एर्दोआनले आफ्नो नीति फेरेनन् भने टर्कीमा महँगीमाथि अंकुश लगाउन पूँजी नै नियन्त्रण गर्नुपर्ने अवस्था आउनेछ । एजेन्सी