ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

२०८० जेठ, १६  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ ।

सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो ।

त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ । 

यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । 

यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ । 

मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ । 

मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो । 

यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)