ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी बजारमा लगानी भित्र्याउन ऐन कानूनमा सुधार गर्नुपर्छ : मुक्ति अर्याल [अन्तरवार्ता]

२०८० जेठ, १७  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल करीब तीन दशकदखि पूँजी बजारमा सक्रिय छन् । लगभग १७ वर्ष अमेरिकाको वाल स्ट्रिटमा काम गरेर त्यहाँको पूँजी बजारलाई नजिकबाट नियालेका अर्यालसँग आर्थिक अभियानकी लक्ष्मी शर्मा गरेको कुराकानी :

तपाईंले अमेरिकी पूँजी बजारमा कामका साथै लगानी पनि गरेर अमेरिकी पूँजीबजारलाई नजिकबाट नियाल्नुभएको छ । त्यस हिसाबले नेपाली शेयर बजारलाई  कसरी हेर्नुहुन्छ ?
हाम्रो मार्केट र अमेरिकी मार्केटमा तुलना नै हुन सक्दैन । हामी भर्खर शुरुवाती चरणमा छौं भने उनीहरू उत्कर्षमा छन् । अमेरिकाको पूँजी बजार धेरै आधुनिक र विकसित छ । त्यहाँ  कुनै पनि वित्तीय साधनहरू बनाएर सजिलै कारोबार गर्न सकिन्छ । 

अमेरिकामा कुनै पनि वित्तीय सोचलाई वित्तीय साधन बनाएर बजारमा ल्याउन सकिन्छ तर नेपालमा त्यो सुविधा छैन । अमेरिकामा सिर्जनात्मक र रचनात्मक कार्यलाई प्रवर्द्धन र उत्साहित गरिन्छ तर हामी निरुत्साहित र बन्देज गर्छौं ।  

अमेरिकामा कम्पनी सञ्चालनमै नआईकन पनि धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गरेर पूँजी संकलन गरी लगानी गर्न सकिन्छ । यो स्पेसियल पर्पोज  एक्वीजीसन कम्पनी (स्प्याक) भन्ने अवधारणा हो, जुन हामीकहाँ कमैलाई थाहा होला । हाम्रो र उनीहरूको बजारसँग तुलना गर्दा उनीहरू के गर्छन् भन्ने हामीलाई कुनै अत्तोपत्तो नै छैन । शून्य र १०० को स्केलमा राख्ने हो भने हामी शून्यको नजिक छौं भने उनीहरू १०० को नजिक । अमेरिकी पूँजी बजार धेरै नै सृजनशील, रचनात्मक र उन्नत बजार हो । सोचले काम गर्ने ठाउँ हो । नेपालमा सोचभन्दा बढी पुरानो ढर्राबाट कामहरू हुने गर्छन्, भइरहेका पनि छन् । हामी पूँजी बजार विकासको शुरूवाती चरणमा छौं । नेपालको पूँजी बजार पनि विकास र विस्तार हुँदै छ, बिस्तारै अगाडि बढ्दै छ तर यो ज्यादै अपर्याप्त छ । 

त्यहाँकोपूँजी बजारमा के कस्ता प्रविधिहरू प्रयोगमा  छन् ? नेपाली शेयर बजारमा प्रयोग भएका प्रविधिमा के फरक पाउनुहुन्छ र सुधारको लागि के छ सुझाव ?
त्यहाँ प्रयोग हुने प्रविधिहरू एकदमै अत्याधुनिक र प्रमाणित हुन्छन् । प्रविधि भन्ने बित्तिकै आईटी, सफ्टवेयर, स्टोरेज, कम्प्युटर, इन्टरनेट मात्रै होइन, त्यसको सुरक्षाको पनि कुरा आउँछ । यी विषयका सबै कुरालाई व्यवस्थापन गरेर प्रविधिहरू सञ्चालनमा आउँछन् । 

प्रविधिले धेरै किसिमका वित्तीय साधन र औजारहरू बनाउन सहयोग गरेको छ । प्रविधिले गर्दा नै बजारको मागअनुसारका वित्तीय साधनहरू बनाएर कारोबार गर्न सम्भव भएको छ । प्रविधिको अभावमा त हेज फन्ड, अल्गोरिदम ट्रेडिङजस्ता अवधारणाले मूर्त रूप लिँदैनथ्यो । 

प्रविधिको प्रयोग गरेर उनीहरूले यस्तो अचम्म लाग्ने सेक्युरिटिज पनि  बनाएका छन् कि जुन प्रतिफलमा साधारण फण्डभन्दा दुई गुणा माथि,  तीन गुणा माथि जाने हुन्छन् । जोखिम पनि त्यही अनुपातमा रहने हुन्छ । यसरी प्रविधिले अचम्म लाग्ने र नसोचिएका वित्तीय साधन र औजारहरू बनाउन र कारोबार गर्न सम्भव बनाइदिएको छ, जुन त्यो बजारमा उपलब्ध छ । 

प्रविधिकै प्रयोग गरेर उनीहरूले एउटै ब्रोकरबाट पूँजी बजारका सम्पूर्ण सेवाहरू पाउने गर्छन् । मार्जिन लोन होस् वा कारोबार एकै क्लिकबाट हुन्छ । राफसाफ कारोबारकै समयमा हुन्छ र किनेको धितोपत्र तुरुन्तै खातामा आउँछ । हामीकहाँ धितोपत्र विक्री गरेपछि जुन इडीआईएस भन्ने गर्छौं, त्यो उनीहरूले कहिल्यै नसुनेको वा अभ्यास नगरेको हुन सक्छ । कुनै समस्या भए त्यो समस्या एक कल फोनबाट समाधान हुन्छ । धेरै काम पेपरलेस हुन्छ । लगानीकर्ता वा ग्राहकले गुणस्तरीय र उन्नत सेवा पाउँछन् । 

प्रविधि भएर पनि हामी यसको सही सदुपयोग गर्न सकेका छैनौं । प्रविधिको नाममा हामीले लगानीकर्ताहरूलाई पीडा र दु:ख दिइरहेका छौं । लगानीकर्ताहरूले स्तरहीन सेवाका लागि महँगो लागत तिर्नु परिरहेको छ । 
नयाँ नयाँ लगानीयोग्य कम्पनीहरू थपिनुपर्‍यो, लगानी फर्महरू, ब्रोकरहरू, डिलरहरू, लगानी बैंकहरूलगायत भेन्चर क्यापिटल, प्राइभेट इक्विटीहरू आउनुपर्छ । त्यसपछि बजारले सबै कुरा माग गर्दै जान्छ । अवसर पनि पैदा हुन्छ । यी सबै कुरा एकैचोटि हुने होइन ।

अमेरिकामा लिलामी शेयरको कारोबार कसरी हुन्छ ? अनलाइनमार्फत या नेपालमा जस्तै कम्पनी अथवा विक्री प्रबन्धककहाँ गएर ? 
नेपालमा गरिने लिलामी शेयरको अभ्यास आउटडेटेड कन्सेप्ट हो । जुन धितोपत्र वा शेयरहरू यहाँ लिलामी गर्ने भनेर विक्री गर्ने गरिएको छ, त्यो भनेको दुनियाँले अभ्यास गरेका उत्कृष्ट अभ्यासहरूबारे बेखबर हुनुबाहेक केही होइन । जुन धितोपत्र वा शेयरहरू यहाँ लिलामी गरिएका छन् ती धितोपत्र वा शेयरहरू डिलर वा ओटीसी मार्केटबाट सजिलै कारोबार गराउन सकिन्छ । इलेक्ट्रोनिक नेटवर्क  (ईसीएन) मार्फत तेस्रो र चौथो मार्केट बनाएर पनि यी कार्यहरू सजिलै गराउन सकिन्छ । 

विश्वका ठूलोपूँजी बजारमा विदेशी लगानीकर्ताहरूले सहजै कारोबार गरिरहेका हुन्छन् । नेपालमा विदेशी लगानीकर्ता किन भित्र्याउन सकिएको छैन ?
नेपालको पूँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउन नसक्ने कारणहरू धेरै छन् । पहिलो भनेको विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न धितोपत्र ऐनमै बन्देज छ । हाम्रो कानूनले धैरै बाधा गरिरहेको छ । कानूनी बन्देज र अन्य प्रावधानहरू पनि सजिलो नभएका कारण नेपालमा विदेशी लगानीकर्ता भित्र्याउन नसकिएको हो । कानूनी झन्झट सहज भएमा विदेशी लगानीकर्ताहरू आउने सम्भावना हुन्छ । यहाँ त एनआरएनले नै लगानी गर्न नपाउने अवस्था छ, विदेशीले लगानी गर्ने धेरै परको विषय हो । केही  दिन अगाडि धितोपत्र बोर्डले एनआरएनलाई भित्र्याउनका लागि कमिटी गठन गरेको छ । आशा गरौं, आवश्यक प्रक्रिया पूरा गरेर एनआरएनलाई लगानीको लागि सहज वातावरण बनाइनेछ । 

पछिल्लो समय ऋण तिर्नकै लागि हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न थालेका छन्, यो ठीक हो त ? 
यो भनेको कम्पनीको निर्णय हो । कम्पनीहरूले विवेकपूर्ण तरीकाले निर्णय लिनुपर्छ । यस्तो गर्न नपाउने भन्ने हुँदैन, गर्न पाइन्छ तर यो कत्तिको विवेकपूर्ण निर्णय हो भन्ने हो । कम्पनी डुब्ने अवस्थामा यस्तो पनि गर्नुपर्छ तर सामान्य अवस्थामा भने कम्पनीले नाफा कमाएर नै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु पक्कै पनि राम्रो होइन । 

विदेशमा कर्जा तिर्न हकप्रद निष्कासन गर्ने विषयलाई बुद्धिमत्तापूर्ण निर्णय मानिँदैन र स्वीकार गरिँदैन । त्यसो त त्यहाँ हकप्रद निष्कासनकै प्राय: अभ्यास गरेको पाइँदैन । त्यसको सट्टा सिजन्ड इक्विटी   अफरिङको अभ्यास व्यापक गर्ने गरिन्छ । 

नेपालमा कुनै कम्पनीको हकप्रद शेयरको हल्ला चलाएर कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढाउने गरेको पनि पाइन्छ । यस्ता हल्लाबाट भन्दा पनि कम्पनीको समग्र वित्तीय अवस्था हेरेर लगानी गर्नु उचित हुन्छ । किनकि हकप्रद निष्कासनले मात्रै कम्पनीको भ्यालु वृद्धि गर्दैन । 
 
नेपालका सूचीकृत कम्पनीहरूले बोनस शेयर दिएर पूँजी बढाइरहेका छन् तर किन नगद लाभांशमा जोड दिँदैनन् । अमेरिकामा कस्तो छ ? हुनुपर्ने के हो ?
नेपालमा लगानीकर्ताहरू बोनस शेयरकै पछाडि दौडिएको देखिन्छ । लाभांश वितरण गरिरहनुभन्दा कम्पनीले आर्जन गरेको नाफा पुन: लगानी गरेमा प्रतिफल बढ्नेछ । त्यसपछि कम्पनीको शेयरको भ्यालु बढ्छ । 

अमेरिकाका अमेजन, गुगल, टेस्ला, बर्कसायर हाथवे जस्ता ठूला कम्पनीहरूले कुनै पनि लाभांश दिएका छैनन् । भ्यालु इन्भेस्टर वारेन बफेटको बर्कसायर हाथवे कम्पनीको क्लास ए शेयरको मूल्य प्रतिकित्ता लगभग ५ लाख डलर रहेको छ । त्यो कम्पनीले शेयरधनीलाई कहिल्यै लाभांश दिएको छैन । त्यो कम्पनीले कमाएको नाफालाई पुन: लगानी गर्ने गर्छ । यसरी कम्पनीले कमाएको नाफालाई पुन: लगानी गर्दा शेयरको भ्यालु बढेर जाने गर्छ । युरोप अमेरिकामा लाभांश त्रैमासिक रूपमा वितरण गर्ने गर्छन् । त्यसमा पनि बोनस शेयरको अभ्यास लगभग छैन र नगद लाभांश नै दिएका हुन्छन् । प्राय: त्यहाँ त्रैमासिक लाभांश कति दिने भन्ने पोलिसी हुन्छ, जुन कम्पनीले पहिल्यै निर्णय गरेर लगानीकर्तालाई थाहा दिएको हुन्छ । 

लाभांश करको कारण नेपालमा बोनस शेयरको रूपमा लाभांश दिनुभन्दा नदिँदा शेयरधनीहरूको प्रतिफल बढी हुन्छ । यसको कारण बोनस शेयरमा लाग्ने कर नै हो ।  बोनस शेयर दिनु भनेको एक प्रकारले पुन: लगानी हो, जुन  बोनस शेयर नदिईकनै पनि गर्न सकिन्छ । त्यसो गर्दा कम्पनीले शेयरधनीहरूको ५ प्रतिशत लाभांश करको रूपमा हुने खर्चलाई वर्तमानमा बचत गरेर कम्पनीमै लगानी गर्न सक्छ । यसो गर्नुलाई आज तिर्नुपर्ने करलाई भविष्यमा सारेको भनिन्छ । यो कम्पनी, शेयरधनी र लगानीकर्ता सबैको हितमा हुन्छ । 

यस्ता विषयहरूमा नेपाली कम्पनीहरूले ध्यान दिएको पाइँदैन । अरू थुप्रै विषयहरू छन्, जुन शेयरधनीहरूको फाइदाको लागि फरक ढंगले सोच्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)