ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सकियो पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट, दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड

२०८० जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
author avatar अभियान संवाददाता

पोखरा– पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट-२०२३’ दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड दिँदै सम्पन्न भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेसनलको आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ देखि पोखरामा मार्ट शुरु भएको थियो। चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दिगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरूले जोड दिएका छन्। उनीहरूले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटाइजेसनलाई समेत सँगसँगै लैजानुपर्ने बताए। 

यस्तै उनीहरूले विश्व पर्यटन विस्तारै कोभिडअघिको लयमा फर्किन थाले पनि पर्यटनले आर्थिक मन्दीको असर बेहोरिरहेको बताए। विज्ञहरूले विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नुपर्ने बताए । नेपालमा पहिलो पटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकले दाबी गरेको छ । 

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले पनि ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले तस्वीर हेरेपछि पूरै नेपाल घुमेको अनभूति भएको बताएका थिए।  प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्वीर राखिएको थियो ।

सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र विक्रेतासहित २५० भन्दा बढीको सहभागिता रहेको मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरूले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर, आर्टिफिसियल इन्टेलिजेन्स, सोसल मिडिया इन्फ्लुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल भएको थियो।कार्यक्रममा माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटन विज्ञ प्रोफेसरहरू पनि सहभागी थिए । जसले पर्यटनका विविध आयामबारे धारणा राखेका थिए । 

सम्मेलनमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको समापनमा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रूपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकोमा बधाई दिए । ‘यो सम्मेलनले नेपाललाई सुन्दर,सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रुपमा चिनाउन सघाउ पुग्नेछ,’ उनले भने ।नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तरराष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासँगै समग्र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सम्मेलनले कोभिडपछि लयमा फर्किँदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए । 

कार्यक्रमको गत मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)