काठमाडौं । शुक्रवार राति भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २३८ जनाको मृत्य भयो ।
ओडिसाको बालासोरनजिक भएको सो दुर्घटनामा ९०० जनाभन्दा धेरै यात्रु घाइते भएको बताइएको छ । यो मृतकको संख्याका आधारमा भारतको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो चौथो ठूलो रेल दूघर्टना हो । भारतमा वर्षेनी अनेकौं साना ठूला रेल दूघर्टना भइरहन्छन् । अधिकांश घटनाहरु रेल लिकबाट बाहिर खस्दा भएका छन् । यी मध्ये केही घटनाहरु यस प्रकार छन्ः
२०१७, अगष्ट १९ः
उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिक कलिंगा–उत्कल एक्सप्रेसको १४ ओटा डिब्बा लिकबाट बाहिर झर्दा २३ जनाको मृत्यु भएको थियो । सो रेल ट्रेन पुरीबाट हरिद्वार जाँदै थियो ।
२०१७, २२ जनवरीः
आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो ।
२०१६, २० नोभेम्बरः
कानपुर नजिकै पुखरायांमा ठूलो रेल दुर्घटना भयो । पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट बाहिर खस्दा सो रेलमा सवार १५० जनाको मृत्यु भयो ।
२०१२, ३० जुलाई:
सन् २०१२ भारतको रेल्वे इतिहासमा सबैभन्दा खराब वर्ष रह्यो । उक्त वर्षभरि १४ वटा रेल्वे दूघर्टना भए । रेलको डब्बा लिक बाहिर झरेको अनि रेलहरुबीच टक्कर दुबै खालका घटनाहरु देखिए । २०१२ को ३० जुलाईमा नेल्लोर नजिकै दिल्ली–चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
२०१०, २० मेः
पश्चिम बंगालमा संदिग्ध नक्सालवादीहरुको हमलाका कारण ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर खस्दा १७० जनाको मृत्यु भएको थियो ।
२००२, ९ सेप्टेम्बरः
हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना हुँदा १२० जनाको मृत्यु भएको थियो ।
२०००, डिसेम्बर २ः
कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा मेल दिल्ली जाँदै गरेको मालगाडीसँग ठोक्किँदा ४ जनाको मृत्यु भयो भने १४० जना घाइते भएका थिए ।
१९९९, ३ अगस्टः
दिल्ली जाँदै गरेको ब्रह्मपुत्र रेल पश्चिम बंगालको गासलमा अवध–असम एक्सप्रेससँग ठोक्किँदा २८५ जनाको मृत्यु भएको थियो । अनि ३१२ जना घाइते भए ।
१९९८, नोभेम्बर २६ः
पञ्जाबको खन्नामा फ्रन्टियर मेल सियालदह एक्सप्रेससँग ठोक्किदा १०८ जनाको मृत्यु भयो भने, १२० जना घाइते भएका थिए ।
१९९८, सेप्टेम्बर १४ः
अहमदाबाद–हावडा एक्सप्रेस छत्तीसगढको बिलासपुरमा नदीमा खस्यो । यस घटनामा ८१ जनाको मृत्यु भयो भने, सय जना घाइते भएका थिए ।
१९९६, अप्रिल १८ः
दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्कियो । यो घटनामा मर्नेको संख्या ३५ थियो भने घाइते ५० थिए ।
१९९५, २० अगस्तः
नयाँ दिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्किँदा २५० जनाको मृत्यु भएको थियो । अरु २५० जना घाइते भएका थिए ।
१९८१, जुन ६ः
बिहारमा आँधीका कारण रेल नदीमा खस्दा यो दिन ८०० जनाको मृत्यु भएको थियो । घाइतेको संख्या हजार थियो । यो भारतको इतिहासको सबैभन्दा कहालीलाग्दो रेल दूघर्टना थियो । एजेन्सी