गोल्छा ग्रूपले भारतको इन्डियन आयलको सहायक कम्पनी इन्डियन आयल मौरिसस लिमिटेडसँग मिलेर नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि ल्यूब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने भएको छ । यस्तो साझेदारीको कम्पनीले नेपालमा यस्तै खालका अन्य कम्पनी खोल्न प्रोत्साहन गर्ने देखिन्छ । रोयल इन्फिल्डले नेपालमा मोटरसाइकल एसेम्बल गर्न लागेको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा यस्तो तयारी गरिएको हो । अहिले नेपालमा सवारीसाधनका एसेम्ब्लिङ प्लान्ट स्थापना गर्ने, विद्युतीय सवारीसाधन उत्पादन गर्नेजस्ता कम्पनी खुल्न थालेको पाइन्छ ।
नेपालमा अहिले निजी सवारीसाधनको विक्री निकै बढेको छ । दुईपांग्रे र चारपांग्रे सवारीसाधनको विक्रीको आँकडालाई हेरेर नै अहिले ती साधनका लागि नेपालमा विक्री एजेन्ट बनेका कम्पनीहरूले माउ कम्पनीसँग मिलेर एसेम्ब्लिङ प्लान्ट स्थापना गर्न थालेको बुझिन्छ । मोटर साइकल एसेम्बलबाट शुरू भएको यो यात्रा अब गाडीको एसेम्बलतर्फ लम्कन आँटेको छ । कुनै पनि मुलुकको औद्योगिक विकासका लागि एसेम्ब्लिङ उद्योगको महत्व निकै हुन्छ । चीनमा स्थापना भएका एसेम्ब्लिङ उद्योगकै कारण त्यहाँ औद्योगिक विकास भएका मानिन्छ ।
मोटरसाइकल र मोटरको एसेम्बल हुन थाल्यो भने त्यसका केही पार्टपुर्जा बिस्तारै नेपालमा बन्न थाल्नेछन् । उदाहरणका लागि गोरखकाली टायर उद्योगले व्यवसाय पाउन सक्छ । नेपालमै उत्पादन भइरहेका सामानहरू उद्योगका लागि सहायक कच्चा पदार्थ बन्न सक्छन् । त्यस्तै बाहिरबाट आयात हुने सानातिना सामान नेपालमै उत्पादन भई आपूर्ति हुन थाल्ने सम्भावना हुन्छ ।
बजाज र टीभीएस ब्रान्डका मोटरसाइकल तथा तीनपांग्रे सवारीसाधन एसेम्बल हुन थालिसकेका छन् । त्यस्तै अहिले हुन्डाइलगायत ब्रान्ड पनि नेपालमा एसेम्ब्लिङ उद्योग खोल्न तयार देखिएका छन् । अहिले केही विद्युतीय स्कूटरसमेत एसेम्बल हुन थालिसकेका छन् । २५ भन्दा बढी एसेम्ब्लिङ उद्योग खोल्न दर्ता भएको बताइन्छ । यसले नेपालमा औद्योगिकीकरणको अर्को चरण ल्याउन सक्छ ।
यस्तो उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गर्छ । सानातिना पार्टपुर्जा उत्पादन गर्दै पछि यस्ता सामान नै नेपालमा आप्mनै ब्रान्डबाट पनि उत्पादन हुन सक्छ । विद्युतीय मोटरसाइकल यात्रीले यस्तो सम्भावना देखाएको पनि छ ।
तर, सरकारले एसेम्ब्लिङ उद्योगका लागि पर्याप्त सुविधा र कर छूटको कार्यक्रम ल्याउन सकेको छैन । कर छूट र सस्तो श्रम नै यस्ता उद्योगका आकर्षण हुन् । सरकार आपैmले जग्गा उपलब्ध गराएर पनि यस्ता उद्योगलाई नेपालमा आउन प्रोत्साहित गर्नुपर्छ । चर्चित ब्रान्डका एसेम्ब्लिङ उद्योग मुलुकमा आए भने नेपाल पनि विश्व मूल्य शृंखलामा जोडिन सक्छ । भियतनाम लगायत कतिपय देशमा यस्तै उद्योगबाट त्यहाँ आर्थिक विकास भएको पाइन्छ । नेपालमा पनि यस्ता उद्योग आए भने तिनले औद्योगिकीकरणको बाटो खुलाउन सक्छन् ।
एसेम्ब्लिङ उद्योगलाई कर छूट दिने विषयमा भने विवाद रहेको पाइन्छ । सरकारले छूट दिए पनि बजारमा ती सामानको मूल्यमा कमी नआएको गुनासो रहने गर्छ । यसले उपभोक्तालाई निराश बनाएको छ । यहाँ आउने एसेम्ब्लिङ उद्योगले यहीँको बजारलाई हेरेको पाइन्छ । त्यसो हुँदा उपभोक्ताले तुलनात्मक रूपमा केही सस्तो सामान नपाए नेपालमा उत्पादित सामान भन्नुको अर्थ रहँदैन । निर्यातको लक्ष्यसहितका एसेम्ब्लिङ उद्योग आउँछन् भने त्यसलाई सरकारले उच्च प्राथमिकतासहित छूट दिनु उपयुक्त हुन्छ । ठूलो परिमाणमा उत्पादन हुने भएकाले तिनलाई आवश्यक पर्ने सहायक पदार्थका उद्योग नेपालमा खुल्न थाल्छन् ।
मुलुकमा औद्योगिक विकास हुन नसक्नुको कारण औद्योगिक वातावरण बन्न नसक्नु हो । अहिले आएका संयुक्त लगानीका उद्योग र सवारीसाधनका एसेम्ब्लिङ उद्योगले यस्तो वातावरण बनाउन मद्दत गर्छन् । स्वदेशमा उद्योग, धन्दा फस्टाउन नसकेको बेला एसेम्ब्लिङबाट पनि लाभ लिन सक्नुपर्छ । यस्ता उद्योगले सहज महसूस गर्दै गए भने बिस्तारै वैदेशिक लगानी भित्याउन पनि सहयोग पुग्छ । एसेम्ब्लिङ उद्योगको अर्को महत्वपूर्ण फाइदा शीपको हस्तान्तरण हो । सरकारले यस्ता उद्योगमा नेपालीलाई जतिसक्दो बढी प्रवेश गराउने वातावरण सृजना गर्न सक्ने हो भने विदेशी शीप हस्तान्तरणमा मद्दत पुग्छ ।