काठमाडौं । सरकार र लगानीकर्ताबिच सहमति भएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आइतवार नेप्से परिसूचक २ दशमलव ८४ प्रतिशत अर्थात ५३ दशमलव ०३ अंक बढेर १ हजार ९१९ दशमलव ३७ विन्दुमा पुगेको हो ।
अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो । अघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिन लगातार घटेको थियो ।
आज कारोबारमा आएका २७० धितोपत्रको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर ३१ हजार २५२ पटकमा रू. १ अर्ब ६५ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबार आएका धितोपत्रमध्ये आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मर्जर पश्चात कम्पनीको शेयर आजदेखि कारोबारमा आएको हो । यस कारण यस कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ४०७ दशमलव ९० पुगेको छ । त्यस्तै दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८७ प्रतिशत बढेर रू. ८२४ पुगेको छ ।
आइतवार सबैभन्दा बढी १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य १ दशमलव ९६ प्रतिशत घटेर रू. १ हजार ५० कायम भएको छ । त्यस्तै दोस्रोमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य १ दशमलव ९३ प्रतिशत घटेर रू. ८ दशमलव १२ मा झरेको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. १५ करोड ८१ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८६ दशमलव ९० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. ८ करोड १३ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ओटै समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक ७ दशमलव ३७ प्रतिशत बढेको छ । त्यस्तै दोस्रो निर्जीवन बीमा समूहको ४ दशमलव ५४ प्रतिशत बढेको हो । त्यस्तै आइतवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ६७ प्रतिशत,फ्लोट इन्डेक्स २ दशमलव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५० प्रतिशत बढेको छ ।