काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो । मार्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तरराष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न संघसंस्था र निकायको विशेष सहयोग तथा सहकार्य रहनेछ । सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा आयोजना हुँदै आएको मार्ट कोभिड–१९ महामारीका कारण सन् २०१९ पश्चात् आयोजना हुन सकेको थिएन ।
मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ, जसमा ५० क्रेता र ५० विक्रेता सहभागी हुनेछन् ।
मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् । कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई क्षमताअनुसार सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सीईओ बुडालको भनाइ छ ।
‘दुई अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ,’ उनले भने । ‘रि–कनेक्टिङ, रि–बिल्डिङ र रि–इन्भिगोरेटिङ’ मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज विक्रीवितरणमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । देशकै प्रमुख अन्तरराष्ट्रिय ट्राभल ट्रेड मेलाको रूपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउने र हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।
नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटनमैत्री गन्तव्यको बलियो ब्राण्डका रूपमा स्थापित गर्ने प्रमुख उद्देश्यले यो मार्ट आयोजना हुँदै आएको छ ।