काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा २० गुणा बढी आवेदन परेको छ ।
कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ४३ हजार ६६७ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जना आवेदकहरूबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता आईपीओ खरीद माग भएको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गरिएको हो । सर्वसाधारणमा वितरण हुने कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ६४ हजार ३६६ जना भाग्यमानी योग्य आवेदकहरूले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । यसरी बाँडफाँट गरी बाँकी रहेको ७ कित्ता शेयर यीमध्ये पनि थप भाग्यमानी सात जना आवेदकले थप एक कित्ताका दरले हात पार्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।
कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महीना बाँकी छ ।