ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामो समयपछि सार्वजनिक निष्कासनमा हकप्रद शेयर

पहिलो दिनमै ५ हजारभन्दा बढीले दिए आवेदन

२०८० जेठ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र बजारमा सार्वजनिक निष्कासनका क्रममा पछिल्लो समय आईपीओले निरन्तरता पाइरहे पनि अन्य धितोपत्रले भने निरन्तरता पाएको अवस्था थिएन । लगानीमा फरकपन चाहने लगानीकर्ताले लामो समयपछि हकप्रद शेयर खरीद गर्ने अवसर पाएका छन् ।

राधी विद्युत कम्पनीको गत असोजमा हकप्रद शेयर विक्री गरेको थियो । राधी विद्युतले १ बराबर १ दशमलव ४७ को अनुपातमा हकप्रद विक्रीको लामो समयपछि धितोपत्र बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री खुला गरेको हो ।

सार्वजनिक निष्कासनमा आएका आईपीओ, एफपीओ, ऋणपत्र, म्युचुअल फण्डका इकाई सर्वसाधारण लगानीकर्ता सबैले खरीद गर्न पाउँछन् भने हकप्रदको लागि भने कम्पनीले तय गरेको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।

दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनीले प्रतिकित्ता रू. १०० मूल्यमै हकप्रद शेयर जारी गर्ने भएकाले पनि धेरैजसो लगानीकर्ताको आकर्षण हकप्रदमा देखिन्छ । बजारविज्ञ लगानीकर्ता भने हकप्रदले कम्पनीको शेयर कित्ता थप हुने हुँदा बजारमा विक्री चाप बढ्न गई मूल्यमा असर गर्ने तर्क गर्छन् । 

तर, धेरैजसो लगानीकर्ताले राम्रो वित्तीय अवस्था र दोस्रो बजारमा राम्रो मूल्य भएको कम्पनीको हकप्रद शेयर खरीद गर्दा घाटा नहुने प्रतिक्रिया दिने गरेका छन् । हाल सार्वजनिक निष्कासनमा हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद शेयरसँगै लुम्बिनी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र, कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो चरणको आईपीओ विक्रीमा छन् ।

आईपीओबाहेक अन्य धितोपत्र खरीदका लागि पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ । तर, लामो समयपछि सार्वजनिक निष्कासनमा आएको हकप्रद शेयर खरिदका लागि पहिलो दिनमै ५ हजार २८५ जनाको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार सोमवार एकै दिन हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर खरीदका लागि यी आवेदकहरूबाट ४ लाख ४० हजार ३११ कित्ता शेयर खरीद माग भएको हो । पहिलो दिनमै कम्पनीको करीब ४ प्रतिशत हकप्रद शेयर विक्री भएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।

धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. १६७ दशमलव ६० कायम भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा हकप्रद शेयर विक्री खुला गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर असार १० गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)