काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्णय गरेको छ । बोर्डले एक धितोपत्र व्यापारी (स्टक डिलर), एक पूर्ण कार्य कार्य गर्ने धितोपत्र दलाल र ९ सिमिति कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले जेठ २२ गते धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका ११ थप कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको जानकारी दिएका हुन ।
उनका अनुसार रू. १ अर्ब ५० करोड चुक्तापूँजी भएको नबिल सेक्युरिटिज लिमिटेडलाई स्टक डिलरको र रू. ६० करोड चुक्तापूँजी भएको मेगा स्टक मार्केट लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिने निर्णय भएको हो ।
रू. २० करोड चुक्तापूँजी तोकिएको सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स एलिट स्टक हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्यूरिटिज लिमिटेड, शुभकामना सेक्यूरिटिज प्रा.लि, हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि, मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, के.वि.एल सेक्यूरिटिज लिमिटेड र कलश स्टक मार्केट प्रा.लि रहेको जानकारी समेत बोर्डका प्रबक्ता श्रेष्ठले गराएका छन् ।
बोर्डले गत असोज २ गतेदेखि ३१ गतेसम्म ४६ कम्पनीहरूको आवेदन ब्रोकर लाइसेन्सका लागि प्राप्त गरेको थियो । ४६ ओटा कम्पनीहरूको आवेदनहरूमध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक स्टक डिलरको लागि रहेको थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको , एक कम्पनी खारेज भैसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको थियो ।
सिमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक ईक्युटी प्राइभेट लिमिटेडको आवेदन रितपूर्वक नभएको बोर्डको भनाई छ । समित कार्य गर्ने गरीनै आवेदन दिएको एनआईसी एशिया सेक्यूरिटिज कम्पनीनै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको जानकारी समेत बोर्डले दिएको छ ।
यी वाहेक रितपूर्वक आवेदन दिएका ४३ कम्पनीहरूलाई ब्रोर्डले पहिलो चरणमा ब्रोकर लाइसेन्सको आशयपत्र प्रदान गरेको थियो । आशय पत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरेसँगै बोर्डले लाइसेन्स वितरण गरेको हो । यस अघि बोर्डले सात सिमित कार्य गर्ने कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको थियो । ती सात कम्पनीहरू भने यसै आर्थिक वर्षभित्र सेवा सुरू गर्ने तयारीका साथ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सदस्यताका लागि पुगिसकेका छन् ।
बोर्डले ब्रोकर लाइसेन्स दिएको थप ११ कम्पनीले पनि सेवा सुरू गर्नका लागि नेप्सेको सदस्यता लिनुपर्ने हुन्छ । बोर्डले आशयपत्र प्रदान गरेका अझै २५ कम्पनीले ब्रोकर लाइसेन्स पाउन बाँकी छ । बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीहरूमध्ये एक धितोपत्र व्यापारी, ३९ सिमित कार्य गर्ने धितोपत्र दलाल र तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीहरू रहेका छन् । हालसम्म ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका १८ कम्पनीहरूमध्ये एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र १६ सिमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।
बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीहमध्ये १२ वटा ‘क’ वर्गका बैंकका सहायक कम्पनीहरू तथा ३१ अन्य संस्थाहरू रहेको बताएको छ । पूँजीका हिसाबमा बलिया कम्पनीहरू धितोपत्र बजारमा प्रवेश भएसँगै बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, बजारमा सेवाको स्तर वृद्धि हुनुका साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने विश्वास बोर्डले लिएको छ ।
ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरूको शेयरपूँजी:
१. एलिट स्टक हाउस लिमिटेड –२० करोड ८० लाख
२. इन्फिनिटी सेक्युरिटिज लिमिटेड– २५ करोड
३. इन्डेक्स सेक्यूरिटिज लिमिटेड– २२ करोड ५ लाख
४. शुभकामना सेक्यूरिटिज प्रा.लि –२० करोड
५. हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि– २० करोड
६. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि– २० करोड
७. माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड–२३ करोड
८. के.वि.एल सेक्यूरिटिज लिमिटेड– २० करोड
९.कलश स्टक मार्केट प्रा.लि– २० करोड
१०. नबिल सेक्युरिटिज लिमिटेड– १ अर्ब ५० करोड
११. मेगा स्टक मार्केट लिमिटेड– ६० करोड
स्रोतः नेपाल धितोपत्र बोर्ड (सेवोन)