काठमाडौं । लाभकरसम्बन्धी विवाद अन्त्य भएसँगै शेयर बजारमा सकारात्मक माहोल सृजना भएको छ । नियामक धितोपत्र बोर्ड (सेबोन) ले धमाधम नयाँ ब्रोकरहरूलाई लाइसेन्स वितरण गर्न थालेको छ ।
नयाँ ब्रोकरहरू आउने समाचारले शेयर बजारमा उत्साह थपिएको देखिन्छ । नयाँ ब्रोकरले नयाँ ग्राहक खोज्ने क्रममा गाउँ-गाउँसम्म शेयर बजारको पहुँच पुग्नेछ । नयाँ लगानीकर्ता भित्रिएपछि बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । ब्याजदर पनि बिस्तारै घट्दै जाने देखिन्छ । लामो समयदेखि घट्दो ट्रेण्डमा रहेको बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएको छ । यति बेला गरिएको लगानीमा जोखिम कम हुने जानकारहरू बताउँछन् ।
साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक १ दशमलव ३५ प्रतिशत अर्थात् २५ दशमलव ६६ अंक बढेर १ हजार ९२७ दशमलव ६५ विन्दुमा पुगेको हो ।
यस दिन २६९ धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता ३६ हजार ११८ पटकमा रू. १ अर्ब ९८ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये न्यादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य रू. ३०१ पुगेको हो । त्यस्तै दोस्रोमा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई मूल्य ९ दशमलव २४ प्रतिशत बढेर रू. ८ दशमलव ६३ पुगेको छ ।
मंगलवार ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ३ दशमलव शून्य ४ प्रतिशत घटेर प्रतिकित्ता रू. ९ सय कायम भएको छ । त्यस्तै दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव ६७ प्रतिशत घटेर रू. ६८५ मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । कम्पनीको रू. ९ करोड ६८ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३४८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ९ करोड १७ लाख बराबर कारोबार भएको हो ।
मंगलवार कारोबारमा आएका १३ओटै समूहगत परिसूचक बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत बढेको छ । यस समूहको कम्पनीको शेयर मूल्य उच्चदरले वृद्धि भएसँगै समूहगत परिसूचक बढेको हो ।दोस्रोमा निर्जीवन बीमा समूहको परिसूचक ४ दशलमव ६४ प्रतिशत वृद्धि भएको छ ।
मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९, फ्लोट इन्डेक्स १ दशमलव ३३ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत वृद्धि भएका छन् ।