ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिग मर्जरमा छूट घट्यो, गत पुससम्म एकीकृत कारोबार गर्न नसकेका बैंकलाई असारसम्म मौका

२०८० जेठ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबीचको मर्जरलाई प्रोत्साहन गर्न दिएको छूट तथा सुविधा कटौती गरेको छ । मंगलवार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले मर्जरमा सहभागी वाणिज्य बैंकहरूलाई दिने सुविधा तथा छूट कटौती गरे पनि अवधि भने बढाएको छ । 

निर्देशनअनुसार मर्जर प्रक्रियामा सहभागी भई २०७९ पुससम्म एकीकृत कारोबार गर्न नसकेका बैंकहरूले २०८० असारसम्ममा एकीकृत कारोबार गरे ६ प्रकारका छूट सुविधा दिने व्यवस्था गरेको छ । जसअनुसार २०८० असारभित्र एकीकृत कारोबार शुरू गरेमा बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि १ वर्ष थप तथा सञ्चालक र उच्च पदस्थ कर्मचारीलाई पदबाट हटेको कम्तीमा ६ महीना अर्को संस्थामा आबद्ध हुन नपाउने कुलिङ पिरियडको प्रावधान छूट हुनेछ । 

यस्तै एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले सीमा नाघेमा तोकिएको सीमाभित्र ल्याउन ६ महीना दिइएको छ । एकीकृत कारोबार गर्दा ब्याजदर अन्तर तोकेको सीमाभन्दा बढी भएमा सीमाभित्र ल्याउन थप १ वर्ष र प्रतिसंस्था निक्षेप संकलन सीमा १ वर्षसम्म ५ प्रतिशत विन्दुले थप हुनेछ ।

यसैगरी एकीकृत कारोबार सञ्चालन गर्दा एक किलोमीटरभित्र सञ्चालनमा रहेका शाखा कार्यालय गाभ्न वा बन्द गर्न १ वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छn ।

यसअघि राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरे मात्र छूट सहुलियत हुने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र एकीकृत कारोबार गर्न नसकेका बैंकहरूका लागि राष्ट्र बैंकले समय थप गरेको हो । तर, पुससम्म एकीकृत कारोबार गर्ने बैंकलाई दिइएका केही छूट सुविधा भने कटौती गरेको छ । 

पुससम्म एकीकृत कारोबार गर्ने बैंकलाई दिइएका अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात, स्प्रेडदरलगायत सूचक कायम गर्न दिइएको छूट भने हटाइएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृतलाई उमेर हदमा दिइएको छूट, संस्थागत निक्षेपको अनुपात र ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्थामा दिइएको सहुलियत पनि हटाइएको छ । 

मर्जरका लागि सम्झौता गरेका बैंकमध्ये अब लक्ष्मी र सन्राइज बैंकले मात्र एकीकृत कारोबार शुरू गर्न बाँकी छ । राष्ट्र बैंकको निर्देशनले यी बैंकलाई असारभित्र एकीकृत कारोबार शुरू गर्न दबाब परेको छ । 

राष्ट्र बैंकले शुरूमा दिएको समयभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाडौं, प्रभु र सेञ्चुरी, नेपाल इन्भेष्टमेण्ट र मेगा तथा कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार शुरू गरेका थिए । 

हिमालयन र सिभिल बैंकले माघमा मात्र एकीकृत कारोबार शुरू गरेका थिए । निर्देशनमार्फत सुविधाको समय थपेपछि यी बैंकहरूलाई पनि सहुलियत भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)