ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै 

२०८० जेठ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै छ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । 

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा  आईपीओ बाँडफाँट गरिसकेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० र सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको थियो । 

कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर बाँडफाँट गरिएको छ । प्रिमियम मूल्यसहितको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीहरूबाट पूर्ण आवेदन नपरेको अवस्था छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता,सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो । 

सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो  आईपीओको विक्री अवधि असार ४ गतेसम्मको लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार १४ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूणर् आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्ययम आधारको संकेत गर्ने केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्युअरदेखि केयर एनपी डी इस्युअरसम्मको रेटिङ प्रदान गर्ने गर्दछ । केयर एनपी ट्रिपल ए इस्युअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्युअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।

२०६४ सालमा दर्ता भएको घोराही सिमेन्ट इण्डष्ट्रीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।  

त्रिवेणी र विशाल समूहबाट संयुक्त रूपमा प्रवर्द्धित घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमध्ये पर्छ ।

हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी रू. ४ अर्ब ३ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ६१ रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता रू. २२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

सूचना हर्न यहाँ क्लिक गर्नुहोस्
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)