मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीनजना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमवार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।
बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याएका थियौं,’ उनले भने । जिल्ला अस्पताल मुगुबाट खटिएको चिकित्सकको टोलीले शव परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए । रासस