ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीका विद्यालयमा पढाइसँगै शीप, २ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइने !

२०८० जेठ, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

म्याग्दी । जिल्लाको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै शीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै शीप सिकाउन थालिएको हो ।

नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई शीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्नसक्ने बनाउने लक्ष्य छ,’ उनले भने, ‘यसपालि वडाको एउटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम आगामी वर्ष सबै विद्यालयमा लागू गर्ने तयारीमा छौं ।’

हाउस वायरिङ, प्लम्बिङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका शीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १० ओटा वडाका लागि चालु आर्थिक वर्षमा रु १/१ लाखका दरले रु १० लाख विनियोजन गरेको छ । वडा नं ९ मा रहेको राष्ट्रिय र गलेश्वर माविका विद्यार्थीहलाई हाउस वाइरिङसम्बन्धी तालिम दिइएको छ । वडा नं १ रत्नेचौरको भानु र अर्जमको रामचन्द्र माविका विद्यार्थीका लागि पनि हाउस वायरिङ तालिम सञ्चालन भइरहेको नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले बताए । 
कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर शीपमूलक तालिम सञ्चालन गरिएको हो ।

बिहानबेलुका विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । वडा नं ४ को धवलागिरि र सरस्वती माविले हाउस किपिङ, अतिथि सत्कार, वडा नं ७ को बेनी सामुदायिक र प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नं ६ अथुङ्गेको जामुनाखर्क मावि, वडा नंम्बर १० पात्लेखेतको दीपक माविमा हाउस वायरिङ तालिम सञ्चालन गर्ने तयारी भएको छ । 

बेनी नगरपालिकाको १५ सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा बढी विद्यार्थी शीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । अहिले प्रारम्भिक चरणको शीप सिकेका विद्यार्थीलाई आगामी वर्ष क्षमता विकास गरिने नगरपालिकाले जनाएको छ । दक्ष, शीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । म्याग्दीमा प्लम्बिङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)