काठमाडौं । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरूरी रहेको बताएका छन् । हिमालय उद्धार संघको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
'सरकार नपुगेको हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्धार संघले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ,' उनले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले अगाडि सारेको सम्पदा घुमौं अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको बताए ।
हिमालय उद्धार संघका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर संघले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।
संघको अध्यक्षमा पराजुली हिमालय उद्धार संघको यही जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संघको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित भएका छन् । उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो । -रासस