काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । परिसूचक शून्य दशमलव २४ प्रतिशत अर्थात् ४ दशमलव ६८ अंक बढेर १ हजार ९३२ दशमलव ३३ विन्दुमा पुगेको हो ।
केही दिनयता लगानीकर्ताको सक्रियताका कारण बजार र कारोबार रकममा सुधार भएको छ । बढेको बजार कहिलेकाहीँ घट्नुलाई सामान्य मानिन्छ । यसरी घट्दै-बढ्दै माथि गएको बजार दिगो हुने विश्लेषकहरू बताउँछन् । कर विवादपछि लगातार तीन दिन बजार घटेको थियो । हाल उक्त विवाद समाधन भइसकेको छ ।
वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । ब्याजदर घट्ने समाचारहरू पनि सार्वजनिक भइरहेका छन् । आगामी मौद्रिक नीतिमार्फत लगानीकर्ताले उठाएका विषय विशेष गरी शेयर धितो कर्जाको १२ करोडको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने विषय समाधान हुन सके बजार बढ्न टेवा पुग्ने जानकारहरू बताउँछन् ।
बुधवार २६१ धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता ४१ हजार ६१३ पटकमा रू. २ अर्ब ३६ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५३ पुगेको हो । त्यस्तै दोस्रोमा खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव शून्य २ प्रतिशत बढेर रू. ९०२ पुगेको छ ।
यस दिन सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य ४ दशमलव ३५ प्रतिशत घटेर रू. ८ दशमलव ३५ कायम भएको छ । त्यस्तै दोस्रोमा सनराइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य ३ दशमलव ८२ प्रतिशत घटेर रू. ८ दशमलव ३० कायम भएको छ ।
बुधवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । कम्पनीको रू. १० करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ८ करोड ९७ लाख बराबर छ ।
यस दिन पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको सूचक बढेको हो । म्युचुअल फण्ड समूहको सूचक शून्य दशमलव ६२ प्रतिशत घटेको छ भने व्यापार समूहको सूचक ४ दशमलव ९७ प्रतिशत बढेको छ । व्यापार समूहको साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ५ दशमलव ४२ प्रतिशत वृद्धि भएसँगै समूहगत सूचक बढेको हो ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १०, फ्लोट इन्डेक्स शून्य दशमलव १८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ११ प्रतिशत बढेका छन् ।