ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व बजारमा बढ्यो गहुँ र मकैको भाउ, कारण यस्तो छ 

२०८० जेठ, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वाशिङटन डीसी (अमेरिका) । विश्व बजारमा गहुँ र मकैको भाउ बढेको छ । रुसको आक्रमणका कारण दक्षिण युक्रेनमा मुख्य बाँध भत्किएपछि विश्व बजारमा गहुँ र मकै पनि महँगो बनेको हो । बाँध भत्किएसँगै अफ्रिका, मध्यपूर्व र एशियाका केही क्षेत्रमा खाद्यान्न ढुवानी गर्न सक्ने युक्रेनको क्षमता कमजोर हुने भयबीच भाउ बढेको हो ।

सिकागो मर्कन्टाइल एक्सचेञ्जमा मंगलवार गहुँको मूल्य प्रतिबशेल २ दशमलव ४ प्रतिशतले बढेर ६ डलर ३९ सेन्टमा पुगेको थियो । मकैको भाउ पनि प्रतिबशेल १ प्रतिशतभन्दा धेरै बढेर ६ डलर शून्य ४ सेन्टमा पुगेको थियो । जौंको भाउ पनि शून्य दशमलव ७३ प्रतिशतले बढेर ३ डलर ४६ सेन्ट कायम भयो । 

रुस नियन्त्रित क्षेत्रस्थित काखोभ्का ड्याम भत्किएको थियो भने जलविद्युत् परियोजना क्षतिग्रस्त बनेपछि युक्रेनको गहुँ, जौं, मकै र सूर्यमुखी तेल निर्यातमा अवरोध हुने भय बढेको छ । युक्रेनी युद्ध मत्थर हुने भन्दा पनि झन बल्झिरहेको छ । यस्तोमा हरेक घटनाप्रति खाद्य बजारमा प्रतिक्रिया देखिने गरेको छ । युक्रेन र रुस दुवै विश्वका मुख्य कृषिजन्य उपज आपूर्तिकर्ता हुन् ।

संयुक्त राष्ट्र संघ र टर्कीको पहलमा रुस र युक्रेनबीच गएको वर्ष खाद्यान्न निर्यात सम्झौता भएको थियो । रुसले बारम्बार सो सम्झौताबाट बाहिरिने धम्की दिँदै आएको छ । गएको वर्ष छोटो अवधिका लागि रुसले सम्झौताबाट हात पनि झिकेको थियो । 

रुसले गएको वर्ष शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै कृष्ण सागर भएर हुने अन्न निर्यात प्रभावित हुँदा विश्व बजारमा गहुँ लगायत अन्नको भाउ कीर्तिमानी उच्च स्तरमा बढेको थियो । विस्तारै अन्नको भाउ सस्तो बनेको भए पनि बजारमा भने महँगी यथावत् नै छ ।

बाँध भत्किनुले विश्वको खाद्य बजारमा महँगीको जोखिम यथावत् नै छ भन्ने स्मरण गराएको विश्लेषकहरू बताइरहेका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)