चितवन । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा बाग्मती प्रदेशमा चितवन अगाडि रहेको पाइएको छ । सुरक्षित आप्रवास कार्यक्रम (सामी)ले बुधवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा चितवनका १३ हजार ९२७ जनाले श्रम स्वीकृति लिएका थिए । सो प्रदेशबाट गत आर्थिक वर्षमा सबैभन्दा कम श्रम स्वीकृति लिने रसुवाका छन् । गत आर्थिक वर्षमा सो जिल्लाका १ हजार १११ जनाले श्रम स्वीकृति लिएका थिए ।
यस्तै मकवानपुरका १० हजार २४५ जना, काभ्रेपलाञ्चोकका ९ हजार ३६७ जना, सिन्धुपाल्चोकका ९ हजार ३२७ र सिन्धुलीका ७ हजार ५१७ जनाले गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएका थिए । यसैगरी रामेछापका ५ हजार ५४१ जना, धादिङ्गका ८ हजार ५६०, नुवाकोटका ८ हजार ४२० र दोलखाका ५ हजार २३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
सो अवधिमा काठमाडौंका ६ हजार ९६८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेको सूचीमा यो संख्या प्रदेशको सर्वाधिक आठौं हो । यस्तै ललितपुरबाट ३ हजार १५८ र भक्तपुरबाट २ हजार ५७३ जना श्रम स्वीकृति लिएको सामीले जनाएको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिने गरिन्छ ।
सामीका कार्यक्रम संयोजक सूर्य पौडेलले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दै गएको बताए । देशको राजनीतिक अस्थिरता, श्रम अनुसारको मूल्य नपाउनुलगायत कारण नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये ७४ दशमलव ५ प्रतिशत श्रमिक अदक्ष र २४ दशमलव ५ प्रतिशत श्रमिक अर्धदक्ष छन् । यस्ता श्रमिकहरू विदेशमा ठगिने, अलपत्र पर्ने र दुःख पाउने गरेको सामीले जनाएको छ । सामीले वैदेशिक रोजगारीमा जानेहरूलाई परामर्श दिँदै आएको छ ।