चितवन । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैंसी मरेका छन् । लम्पी स्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैंसी गरी तीन हजार चार सय १८ गाईभैंसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएकामध्ये ८० गाईभैंसी मरेका छन् । सातओटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले जानकारी दिए ।
उनका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाईभैंसीमा सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।
कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार/चार गाईभैंसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका छन् । झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए ।
रोग लागेका गाईभैंसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाईबस्तुमा गर्भपतनको समस्या पनि देखिनसक्ने उनको भनाइ छ । सङ्क्रमण फैलिन नदिन गोठ वरिपरि सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु बस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उनले सुझाव दिए ।
यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवा विज्ञ केन्द्र चितवनले सातओटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधि वितरण, खोप वितरण गरिरहेको छ । रासस