ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले कृषि बीमाको बक्यौता अनुदान रकम भुक्तानी गर्ने, बन्द गरिएको कृषि बीमा के होला ?

२०८० जेठ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदानबापत निर्जीवन बीमा कम्पनीहरूले पाउन बाँकी झण्डै ३ अर्ब रुपैयाँमध्ये ७२ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । 

सरकारले कृषि बीमाको अनुदान नदिएको भन्दै निर्जीवन बीमा कम्पनीहरूले जेठ ८ बाट कृषि बीमा गर्न बन्द गरेपछि सरकारले पहिलो चरणमा उक्त रकम भुक्तानी गर्ने निर्णय गरेको हो । 

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कम्पनीहरूले कृषि बीमाको दाबीबापत पाउनुपर्ने रकममध्ये सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने निर्णय गरेको बताए । उनका अनुसार बाँकी दाबी भुक्तानीबारे बीमक, प्राधिकरण र सरकारसँग पुन: छलफलपछि निर्णय हुनेछ ।

‘निर्जीवन बीमा कम्पनीहरूले हाल बन्द गरेको कृषि बीमा अब पुन: सुचारु हुन्छ ?’ भन्ने प्रश्नमा क्षेत्री भन्छन्, ‘अहिले बन्द रहेको कृषि बीमा भने संघको बैठकबाट निर्णय भएपछि मात्र पुन: सुचारु हुनेछ ।’

सरकारबाट कृषि बीमाको अनुदान नपाएपछि नेपाल बीमक संघले बक्यौता अनुदान नपाउन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी नगर्ने र सम्बन्धित क्षतिको दाबी भुक्तानी पनि नगर्ने निर्णय गरेको थियो ।  

संघका अनुसार सरकारले २०७९ वैशाखदेखि बाली बीमाको अनुदान रकम दिएको छैन । २०७८ असोजदेखि चैत मसान्तसम्म भने उक्त रकममध्ये आंशिक मात्रै दिएकाे थियो ।

सरकारले माछाको अनुदान रकम २०७७ सालदेखि र पशुपक्षी बीमाको अनुदान रकम २०७८ असोजदेखि दिन बाँकी रहेको संघले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)