काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बिहीवार सकिएको आफ्नो नीतिगत बैठकमा बैंकले लगातार दोस्रो पटक पनि रिपो दर वृद्धिलाई थाती राखेको छ ।
बैंकले यस पटक पनि ब्याजदर बढाउँदैन भन्नेमा विश्लेषक र अर्थशास्त्रीहरू ढुक्क थिए । बैंकले अन्य दरलाई पनि यथावत् राखेको छ । यद्यपि, बैंकले मुद्रास्फीतिको चाप कम गर्न कसिलो मौद्रिक नीतिलाई भने यथावत् राखिने संकेत गरेको छ । आरबीआईको मौद्रिक नीति समिति (एमपीसी) ले सर्वसम्मतिले ब्याजदरलाई साढे ६ प्रतिशतमा यथावत् राखेको छ ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी भएका ६४ अर्थशास्त्रीहरूले पनि बैंकले ब्याजदर नबढाउने बताएका थिए । केहीले त आगामी वर्षको शुरूदेखि ब्याजदर घटाइने सम्भावनाबारे पनि बोल्न थालेका छन् । हालैका हप्ताहरूमा विश्वभर अन्य केन्द्रीय बैंकहरूले पनि ब्याजदर वृद्धि थाती राखेका थिए ।
तर यही हप्ता रिजर्भ बैंक अफ अष्ट्रेलिया र बैंक अफ क्यानडाले भने निरन्तरको मुद्रास्फीतीय चाप कम गर्न ब्याजदर वृद्धि सुचारु गरेर बजार अनि लगानीकर्ताहरूलाई छक्क पारिदिएका थिए । अप्रिलमा भारतको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत थियो । यो १८ महीनाकै न्यून विन्दु हो ।
आरबीआईले मध्यकालीन अवधिमा ब्याजदरलाई ४ प्रतिशतमा राख्ने लक्ष्य दिएको छ । महँगीलाई सहज स्तरमा राख्न बैंकलाई सहज छैन । महँगीलाई इच्छित स्तरमा ल्याउन एमपीसीले प्रतिबद्धता दोहोर्याएको छ । यसका लागि आवश्यक कदम चाल्ने वाचा पनि गरेको छ ।
तर विश्लेषकहरूको कुरा सुन्ने हो भने कम्तीमा पनि २ वर्षसम्म ब्याजदर यो स्तरमा झर्ने छैन । चालू आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत रहने आरबीआई गभर्नर शक्तिकान्त दासले भनेका छन् । खुद्रा मुद्रास्फीति पनि चालू आवमा औसत ५ दशमलव १ प्रतिशतमा रहने उनको अनुमान छ । एजेन्सी