काठमाडौं । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले २ हजार रुपयाका कागजी नोटलाई खारेज गर्ने घोषणा गरेयता झण्डै आधा जति नोट बैंकिङ प्रणालीबाट फिर्ता गएको छ । बिहीबार आरबीआईका गभर्नर शक्तिकान्त दासले मौद्रिक नीति समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
दासका अनुसार यो वर्षको मार्च ३१ सम्ममा ३६ खर्ब २० अर्ब रुपया मूल्यका नोटहरू प्रचलनमा थिए । नोट खारेजीको घोषणापछि झण्डै १८ खर्ब रुपया बराबरका नोटहरू फिर्ता आएको बताइएको छ । ८५ प्रतिशत नोटहरू बैंक निक्षेपका रूपमा फिर्ता आएको दासको भनाइ छ । बाँकी नोटहरू चाहिँ विभिन्न बैंकका शाखाहरूमा साटिन आएको बताइएको छ ।
मे १९ मा आरबीआईले क्रमिक रूपमा २ हजारका कागजी नोट वित्तीय प्रणालीबाट फिर्ता खिच्ने बताएको थियो । सर्वसाधारणलाई २ हजारको नोट बैंक खातामा निक्षेपका रूपमा जम्मा गर्न वा बैंकका शाखाहरूमा ती नोट अन्य मूल्यका नोटसँग साट्न सुझाव दिएको थियो । एजेन्सी