काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो १० महीनामा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।
पूँजीगत ट्रान्सफर २०.५ प्रतिशतले घटेर ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड थियो ।