काठमाडौं । माथिल्लो अरूण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपेली संघ, युरोपेली लगानी बैंक, कुबेत फण्ड, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्जी चेनको पनि सहभागिता थियो ।
ओपनिङ र टेक्निकल गरी दुई सत्रमा भएको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । ‘हामीले अरूण तेस्रोमै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो । तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन,’ मन्त्री महतले भने, ‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै उत्साहित छौं ।’
मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत् परियोजनामा एसियाली विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरे । ‘अहिले पनि नेपालले सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ,’ उनले भने, ‘त्यसैले हामीलाई जलाशययुक्त योजना धेरै आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा छौं । त्यसैले जलविद्युत् उत्पादन र निर्यात बढाएर व्यापारघाटा घटाउने योजना छ ।’
ऊर्जामन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत् उत्पादन र यसको प्रभावका बारेमा चर्चा गरेका थिए । छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका र साउदी फण्डका प्रतिनिधिले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए ।
परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना छ । उक्त परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्व तयारीअन्तर्गत जग्गा अधिग्रहण, रूख कटान लगायत धेरैजसो काम सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाईदेखि परियोजना निर्माण शुरू गर्नेगरी तयारी अघि बढिरहेको छ ।