काठमाडौं । वित्तीय शिक्षाको दायरा आमसर्वसाधारणसम्म पुर्याउनुपर्नेमा यस क्षेत्रका विज्ञ एवं सरोकारवालाहरूले जोड दिएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनीहरूले वित्तीय ज्ञानको अभावमा सर्वसाधारण आधुनिक सेवा सुविधाको पहुँचबाट वञ्चित रहने एवं कतिपय अवस्थामा ठगिने गरेको बताए ।
डिजिटलाइजेसनको युगमा ग्राहकहरूलाई त्यसको प्रयोगबारे उचित जानकारी नहुँदा बैंकिङ सेवाप्रदायकहरूको सञ्चालन खर्चसमेत महँगो पर्न जाने सरोकारवालाहरूको भनाइ छ ।
वित्तीय साक्षरताको लागि स्थापित फाइनान्सियल लिट्रेसी नेपालको शुभारम्भ गर्दै पूर्वगर्भनर डा. चिरञ्जीवि नेपालले पढेलेखेका विद्धान र उच्च पदस्थहरूमा पनि वित्तीय शिक्षाको अभाव देखिएको बताए । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका डा. नेपाल फाइनान्सियल लिट्रेसी नेपालका संरक्षक हुन् ।
संस्थाको अध्यक्षमा पूर्वबैंकर भुवन दाहाल छन् भने सचिवमा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरि छन् । संस्थाले वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
राज्यसत्ताको उपल्लो तहबाटै वित्तीय शिक्षाको विस्तार गर्नुपर्ने बताउँदै डा. नेपालले भने, ‘उच्च ओहोदामा बसिसकेका मान्छेहरूमा नै शुरुमा प्रक्रियालाई मिच्ने, पछि त्यसैलाई वैधानिक बनाउनतिर लाग्ने परिपाटी देखिन्छ । यस्तो कमजोरी एउटा व्यक्तिको मात्रै होइन, परिपाटी नै विकास भएको छ ।’
उनले थपे, ‘वित्तीय संस्थाको पृष्ठभूमि राम्ररी नबुझीकन सहकारी तथा लघुवित्तमा पैसा जम्मा गर्ने र डुबिसकेपछि हारगुहार गर्ने पनि देखिएको छ । कस्ता वित्तीय संस्थामा पैसा जम्मा गर्दा सुरक्षित भइन्छ भन्ने चेतना पढेलेखेकाहरूमा पनि छैन ।’
डा. नेपालका अनुसार राजनीतिक नेतृत्वमा पनि सही निर्णयभन्दा पनि चुनावी हितलाई ध्यान दिने गरेको देखिन्छ । मिडिया जगतले पनि वास्तविक र गहन अध्ययन नगरी लेख तथा रिपोर्टहरू प्रकाशित/प्रशारित गरीरहेको हुन्छ । यसअर्थमा वित्तीय शिक्षा सबैतिर आवश्यक छ ।’
अध्यक्ष दाहालले शुभारम्भ कार्यक्रममा नेपालको वर्तमान आर्थिक अवस्था, भविष्यको सम्भावना र हिन्नुपर्ने बाटो बारेमा आफ्नो प्रस्तुति दिएका थिए । ‘नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण छ । नेपालसँगै आर्थिक विकासका पाइला चालेका मुलुकहरू धेरै अगाडि बढिसक्दा हामी निकै पछाडि छौं,’ उनले भने ।
आगामी दिनमा नेपालले लिने निर्णय र तिनको कार्यान्वयन प्रक्रिया निकै चुस्त/दुरुस्त हुनुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै फाइनान्सियल लिटे«सी नेपालका सचिव गिरिले संस्थाका लक्ष्य तथा उद्देश्यको बारेमा बताए ।
‘नेपालमा अझै पनि वित्तीय साक्षरताको अवस्था न्यून अवस्थामा रहेको छ । राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनमा वित्तीय साक्षरता ५२ प्रतिशत पुगेको देखिए पनि वास्तविक वित्तीय साक्षरता दर कम रहेको अनुमान लगाउन सकिन्छ,’ उनले भने ।
उच्च पदस्थहरूबाट नै समय समयमा वित्तीय प्रणालीमाथि प्रहार भएका घटनाले वित्तीय साक्षरता न्यून भएको मान्न सकिने सचिव गिरिको भनाइ छ ।
संस्थामा आर्थिक क्षेत्रका जानकारहरू, बैंक तथा वित्तीय क्षेत्र र पूँजीबजारका अनुभवी व्यक्ति आबद्धता छ । आगामी दिनमा अर्थतन्त्रमा सुधार र वित्तीय व्यवस्थापनबारे अर्थशास्त्री, वित्तीय क्षेत्रका विज्ञ र आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने संस्थाको योजना छ ।