ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक सम्बन्ध विस्तारमा प्राथमिकता दिन परिसंघको आग्रह

२०८० भदौ, १३  
समाचार अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा परिसंघले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे । सम्बन्धित मुलुकका लागि नेपाली राजदूत एवं राजदूतावासले नेपालमा भएको लगानीका अवसरका बारेमा विदेशी लगानीकर्तालाई जानकारी गराउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

‘निजीक्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको छ,’ उनले भने, ‘तर बाह्य लगानी प्रवर्द्धनका लागि हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन, नेपालले साँच्चिकै लगानी प्रवर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरूको समन्वयमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्छ ।’

अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याए । यसका लागि सहकार्य गर्न परिसंघ तयार रहेको समेत उनले बताए । कुनै पनि मुलुकसँग राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो हुनुपर्ने भन्दै उनले व्यवसायका माध्यमबाट देशको ‘ब्रान्डिङ’ गरिनुपर्ने धारणा राखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)