काठमाडौं । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको देखिएको छ । सूचीकृत कम्पनीहरूले निष्कासन गरेको हकप्रद शेयरका लागि परेको आवेदनले पछिल्लो समय यसप्रति लगानीकर्ताको आकर्षण कम भएका देखाएको हो । यतिबेला एक वित्त कम्पनीसहित चार कम्पनीको हकप्रद शेयर विक्री छ । अपि पावरको ४० प्रतिशत, अरुण काबेली पावरको शतप्रतिशत, मल्टिपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद विक्रीमा छ ।
यी कम्पनीहरूको हकप्रद शेयर खरीदका लागि निकै कम आवेदन परेको अवस्था छ । धेरै समयपछि एकैपटक यति धेरै कम्पनीको हकप्रद शेयर विक्रीमा आएको हो । यसैबीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर समेत भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा आउँदै छ ।
अपर तामाकोशीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । सोही पूँजी बराबरको हकप्रद शेयर कम्पनीले असोज ७ गतेसम्म विक्री गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोल्वालिङ खोला जलविद्युत् आयोजनामा लगानी गर्ने जानकारी दिएको छ ।
कुनै समय लगानीकर्ताको प्रमुख आकर्षणमा अपर तामाकोशीको शेयर थियो । पछिल्लो समय बजार घट्दै जाँदा यो कम्पनीको शेयर मूल्य समेत घटेको छ । गत बिहीवार बजार बन्द हुँदा अपर तामकोशीको शेयरमूल्य प्रतिकित्ता २२२ रुपैयाँ ५० पैसा कायम भएको छ । धितोपत्रको दोस्रो बजारले साविकको कीर्तिमान तोडेर ३ हजार २०० विन्दु छुँदा अपर तामाकोशीको शेयर मूल्य प्रतिकित्ता ८०० रुपैयाँभन्दा माथि थियो ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको यो कम्पनी अझै नोक्सानीमा छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
दोस्रो बजारमा हाल कायम मूल्यले पनि हकप्रद शेयर विक्रीमा प्रभाव पार्ने गर्छ । यतिबेला दोेस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै कम हुनु र लगानीयोग्य रकम प्रयाप्त भए पनि चर्को ब्याजदरका कारण कर्जा लिन नसक्ने अवस्थाले हकप्रद शेयर खरीद गर्न नसकेको भनाइ लगानीकर्ताको छ । बजार घटिरहेकाले पनि लगानीकर्ता चर्को ब्याजमा कर्जा लिएर हकप्रद शेयरमा लगानी गर्न डराइरहेको बताइन्छ । प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बोर्डबाट स्वीकृति पाएको करीब २ महीनामा हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते १ दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले अपर तामाकोशीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सहविक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनी अझै नोक्सानीमा
२०७८ साल भदौ २५ गतेदेखि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको यो कम्पनी अझै नोक्सानीमा छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गतवर्ष अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी बढेको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गतवर्ष ७ अर्ब ३९ करोड रुपैयाँभन्दा माथि छ । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गतवर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी भएकोमा गतवर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ ।
विद्युत् विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गतवर्ष ८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरैले ऋणात्मक छ । कम्पनीले लिएको दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा गतवर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा धेरै रहेको दीर्घकालीन कर्जा गतवर्ष ७३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालीन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेकोमा गतवर्ष ६ अर्ब पुगेको छ । गत आवको अन्त्यसम्ममा कम्पनी ३५ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमा छ । प्रतिशेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा छ ।