काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका नगद तथा चेक डिपोजिटर मेशिनमार्फत बैंकमा रहेको खातामा जम्मा गर्न सकिने बताइएको छ । बैंकले पाँचओटा नगद डिपोजिटर र पाँच ओटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकामा कमलादी, न्यूरोड, उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा नगद डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको बताइएको छ । त्यस्तै चेक डिपोजिटर मेशिन काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर, उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा सञ्चालनमा ल्याएको हो । बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरेका हुन् । उनले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।