ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

२०८० भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए । 

अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने ।

रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)