ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इच्छाकामना महोत्सव भदौ २७ गतेदेखि

२०८० भदौ, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । यही भदौ २७ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव २०८० शुरु हुने भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–४ को कार्यालय कुरिनटार र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सहआयोजनामा इच्छाकामना–४, कुरिनटारमा महोत्सव हुने भएको हो । महोत्सव असोज ७ गतेसम्म चल्नेछ । 

आर्थिक गतिविधिको चलायमान गर्न तथा स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् । 

कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरी इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक रुद्र उप्रेतीले जानकारी दिए । उनका अनुसार महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । 

उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पछिल्लो समय शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए । महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरी काम गरिरहेको उनको भनाइ छ । 

उद्योग वाणिज्य संघ मुग्लिनका उपाध्यक्ष तथा मस्र्याङ्दी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले महोत्सवको अवसरमा यहाँका होटल तथा रिसोर्टहरूमा छूटको व्यवस्था दिइने बताए । यहाँको पर्यटन प्रवर्द्धनका साथै स्टलहरूमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उनको भनाइ छ । 

गाउँपालिका उपाध्यक्ष माया सिलवालले महोत्सवमा किनबेच हुने सामानहरूको गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवले यहाँको पर्यटकीय स्थलहरूको प्रवर्द्धन, स्थानीय उत्पादनको प्रवर्द्धन र कला साहित्य संस्कृतिको उजागर तथा संरक्षण गर्न मद्दत पुग्ने उनको भनाइ थियो । 

अध्यक्ष गुरुङले महोत्सवबाट गाउँपालिकामा आउने करबापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने समेत बताए । महोत्सवमा २०० ओटा स्टल रहने आयोजकले जनाएको छ । साथै महोत्सवमा स्थानीय उत्पादनका १५ ओटा स्टलहरूलाई निःशुल्क सञ्चालनको  व्यवस्था गरिने जनाइएको छ ।

यसअघि २०७५ सालमा उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा पहिलो स‌स्करणको इच्छाकामना महोत्सव आयोजना गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)