ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ ‘टीएमएस’मा विलम्ब

२०८० भदौ, २०  
सम्पादकीय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७९ तेस्रो संशोधनले ‘ब्रोकर कम्पनी’लाई छुट्टै व्यापार व्यवस्थापन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस) सञ्चालन गर्ने बाटो खुलाए पनि नयाँ ‘टीएमएस’का लागि अवरोध कायमै रहेको छ । हाल सबै ब्रोकर कम्पनीले वाइको कम्पनीको ‘टीएमएस’ प्रयोग गरिरहेका छन् । नयाँ ‘टीएमएस’ आए प्रतिस्पर्धा हुने शेयर दलाल कम्पनीहरूको भनाइ छ । तर, नयाँ कम्पनी आउँदा सेवाग्राहीले थप सुविधा र लाभ नपाउने हो भने त्यसले खासै प्रभाव पार्ने देखिँदैन । 

शेयरबजारको विकासका लागि सकेसम्म प्रतिस्पर्धी र पारदर्शी वातावरण बन्नुपर्छ । यसका लागि जेजस्ता नवीन प्रविधि आवश्यक पर्छ त्यसलाई सकेसम्म चाँडो भित्त्याउनुपर्छ भन्ने कुरा नियामकले बिर्सनु हुँदैन । 

अहिले सेवाग्राहीले ‘टीएमएस’बाट शेयर खरीद र विक्रीको आदेश आफै दिन सक्छन् । यही कारण अनलाइन कारोबार सहज भइरहेको छ । अहिले दलाल कम्पनीको हातमा मात्रै शेयर बजार नियन्त्रणमा छैन । तर, एउटै मात्र कम्पनीको ‘टीएमएस’ किन प्रयोग गर्ने भनेर विकल्प खोज्न थालिएको छ । खासमा ब्रोकर कम्पनीहरूकोे आफ्नै ‘टीएमएस’ हुने हो भने शेयर खरीद विक्री प्रक्रिया अझ बढी सहज हुन्छ । अहिले खरीद विक्री आदेशका लागि ‘टीएमएस’ र राफसाफका लागि ‘मेरो शेयर’ प्रयोग भइरहेको छ । त्यस्तै दलाल कम्पनीहरूले आफ्नो हिसाबकिताब र ‘ब्याकअप’का लागि बोस सफ्टवेयर प्रयोग गरिरहेका छन् । नयाँ ‘टीएमएस’ले यी सबैलाई एकीकृत गर्ने हो भने दलाल र सेवाग्राही दुवैलाई निकै सहज हुन्छ । 

त्यतिमात्र होइन, बैंकसँग तेस्रो पक्ष सम्झौता हुन सक्यो भने शेयर खरीदकर्ता सेवाग्राहीको खाताबाट पैसा तान्न पनि सकिन्छ । यी तीनओटा सफ्टवेयरलाई एकीकृत गर्न सकियो भने शेयरबजार पूर्णरूपमा अनलाइन हुन सक्छ । यसका लागि केही कानूनमा संशोधन हुन आवश्यक छ तर यसका लागि पहलसमेत भएको छैन । नयाँ ‘टीएमएस’ले यो समस्या समाधान नगर्ने हो भने यो किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्छ । 

 ‘ब्रोकर ब्याकअप’ र ‘टीएमएस’ एउटै बनाउन सकियो भने एक तहको झन्झट र लागत घट्छ । नयाँ ‘टीएमएस’मा ‘अप्सन’ र ‘इन्डेक्स ट्रेडिङ’का लागि पनि विकल्प दिने व्यवस्था हुनुपर्छ । यद्यपि हाल यिनको कारोबार नेपालमा शुरू भइसकेको छैन । 

नेपाल धितोपत्र बोर्डले एउटै कम्पनीको एकाधिकार हुन नपाउने व्यवस्था गरेको छ । प्रतिस्पर्धाका लागि यो राम्रो व्यवस्था हो तर नयाँ ‘टीएमएस’ ल्याउँदा सेवा कत्तिको प्रभावकारी हुन्छ भन्ने पक्ष पनि महत्त्वपूर्ण हुन्छ । 

नयाँ ‘टीएमएस’ ल्याएपछि सेवाग्राहीसँग थप शुल्क लिने सोच दलाल कम्पनीमा पाइन्छ । तर, त्यसको फाइदा ग्राहकले पाउनुपर्छ । यसको सञ्चालन खर्च सेवाग्राहीमाथि मात्र थोपरिनु हुँदैन, त्यसको केही अंश दलाल कम्पनीले पनि लिनुपर्छ । 

नयाँ ‘टीएमएस’ ल्याउँदा ‘डेटा होस्टिङ’ कहाँ हुन्छ त्यसको सुरक्षा के हुने हो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । नयाँ कम्पनी आउन ढिला हुनु हुँदैन तर विलम्ब भइरहेको छ । यसमा नेप्सेले स्वीकृति दिनुपर्ने हुन्छ । विद्यमान कम्पनीको प्रभावमा परेर पनि यसको प्रक्रियामा विलम्ब भएको हुन सक्छ । कहिले ‘डेटा माइग्रेसन’ त कहिले नीतिगत कुरा अनि कहिले सुरक्षा ‘अडिट’को अत्तो थापेर नयाँ ‘टीएमएस’ ल्याउन अलमल भइरहेको छ । नियामक निकायले प्रतिस्पर्धा रोक्ने खालको यस्तो वातावरण बन्न दिनु हुँदैन । शेयरबजारको विकासका लागि सकेसम्म प्रतिस्पर्धी र पारदर्शी वातावरण बन्नुपर्छ । यसका लागि जेजस्ता नवीन प्रविधि आवश्यक पर्छ त्यसलाई सकेसम्म चाँडो भित्त्याउनुपर्छ भन्ने कुरा नियामकले बिर्सनु हुँदैन ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)