ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समाधान कि निर्देशन ?

२०८० भदौ, २०  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड, नेपाल टेलिकम, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यकाका विभिन्न स्थानीय तहबीच समन्वय नहुँदा नागरिकले निकै सास्ती भोग्नु परिरहेको छ । समस्याको गाँठो फुकाउनतिर नलागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल सडक सुधार गर्न निर्देशन दिएका छन् । वास्तवमा विकास निर्माणका कार्यसँग सम्बद्ध यी निकायले एकअर्कालाई सहयोग गर्नुभन्दा आआफ्नै तरीकाले काम गर्न बढी सक्रिय हुँदा समस्या बढेको हो । 

यो समस्या समाधान गर्न पटकपटक पहल भएर सबै निकायसँग बैठक गरिए पनि समन्वयात्मक ढंगले काम हुन सकेको छैन । महानगरले सडकपेटी बनाउने र त्यसमा प्राधिकरणले तार बिच्छ्याउन खनिहाल्ने, तार बिच्छ्याएपछि त्यसको पुनर्निर्माणमा वास्ता नगर्ने प्रवृृत्ति छ । नेपालमा दण्डहीनता मौलाउँदै गएको छ । समस्या समाधान गर्नेभन्दा पनि एकले अर्कोलाई गल्ती देखाउने प्रवृत्ति हावी छ । जिम्मेवारी पाएकाहरू नै कामबाट पन्छिन अनेक बहाना गर्ने गर्छन् । अधिकार र जिम्मेवारीको सही बाँडफाँट नहुनु तथा त्यसको बोध नहुनु समस्याको जड हो । जति नै गल्ती गरे पनि अर्को पक्षलाई दोष थोपरेर आफू चोखो बन्ने प्रवृत्ति हाबी भएकाले समस्या समाधान हुनभन्दा गुजुल्टो परेर जेलिन थालेको छ । 

नेतृत्वको सफलता समाधान दिएर कामलाई अघि बढाउनु हो । तर, नेपालमा मुख्य जिम्मेवार मानिने मन्त्रीले समाधानका लागि नयाँ उपाय केही पनि ल्याएको देखिँदैन । निर्देशन दिने वा एकाध ठाउँमा आफै गएर काम गरी स्टन्ट देखाउने काम गर्ने गरेको पाइन्छ । समस्याको जडमा पुग्न पर्याप्त अध्ययन जरुरी हुन्छ र कहाँनेर समस्या छ त्यसको समाधान गर्नुपर्छ । यो कामचाहिँ नगरेर निर्देशनमा मात्र रमाउने हो भने समस्या ज्यूँका त्यूँ रहन्छ । जिम्मेवार अधिकारीको लापर्बाहीका कारण राज्यलाई अर्बौंको नोक्सान भइरहेको छ । जिम्मेवारी पुरस्कृत हुनुपर्ने हो । लापरबाही दण्डित हुनुपर्ने हो । तर, जोखिम लिएर कसैले सक्रियता देखाए विधि र प्रक्रियाका नाममा दण्डित गरिन्छ, कामै नगर्नेलाई भने केही पनि गरिँदैन । त्यसैले निर्देशनको भारी बोकाउनुभन्दा काम गर्न बाध्य पार्ने खालको नीतिगत र प्रक्रियागत व्यवस्था बनाउनु आवश्यक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)