काठमाडौं। काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शहर बजारमा प्रमुख चुनौतीको रूपमा देखिएको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयलाई कार्यादेश दिने तयारी भएको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरिको फोहोर व्यवस्थापनको जिम्मेवारी र संयोजन शहरी विकास मन्त्रालयको हुनेगरी आउँदो मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गरिने बताउनुभएको हो ।
‘संघीय सरकार काठमाडौं उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका लागि गम्भीरतापूर्वक लागिरहेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश शहरी विकास मन्त्रालयलाई दिनेगरी निर्णय लिन्छौं ।’
मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री दाहालले देशभरिको फोहोर व्यवस्थापनको जिम्मेवारी र संयोजन शहरी विकास मन्त्रालयको हुनेगरी आउँदो मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गरिने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साँझा दायित्व भएकोमा जोड दिनुभयो । फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानूनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि गृहकार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो । बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइटका लागि जग्गा खरीद लगायतका विषयमा समेत छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्रको खाँचो औंल्याइएको छ । साथै कानूनी प्रबन्ध आवश्यक रहेको सहभागीहरूले बताए ।
छलफलमा शहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायत उपस्थित थिए ।