ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘कोइला प्रतिस्थापनको विकल्प हरित कोइला’

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालमा पहिलोपटक ऊर्जा उत्पादक कम्पनी बकस रिन्युएबल इनर्जी कम्पनी लिमिटेडले वनजंगलका झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादनको काम थालेको छ । विदेशबाट आयात हुने पत्थर कोइला प्रतिस्थापनको विकल्पका रूपमा यसलाई हेरिएको छ ।

बकस रिन्युएबलले वनजंगलमा कुहिएर खेर जाने झारपात, पातपतिंगर, उखुको खोस्टा, तोरीको डाँठ र काठको सदुुपयोग गर्दै हरित कोइला उत्पादन गर्न थालेको कम्पनी संस्थापक कुवेरमणि नेपालले जानकारी दिए । कम्पनीले ३० करोड रूपैयाँ लगानीमा सर्लाहीको ईश्वरपुरमा उद्योग खोलेर काम अघि बढाएको हो । 

नेपालका अनुसार विदेशबाट आयात हुने एक किलो कोइलाबाट सात हजार क्यालोरी शक्ति उत्पन्न हुन्छ भने हरित कोइलाबाट ४५ सय क्यालोरी शक्ति मात्रै उत्पन्न हुन्छ । यस हिसाबले आयातित कोइलाभन्दा केही महँगो देखिए पनि डिजेलभन्दा ५० प्रतिशत र एलपी ग्यासभन्दा ४५ प्रतिशतसम्म सस्तो पर्ने हरित कोइलाको प्रयोग औषधि उद्योग, डेरी उद्योग, इँटाभट्टालगायत विभिन्न कलकारखानामा गर्न सकिने नेपालले जानकारी दिए ।

३० हजार मेट्रिक टन हरित कोइलाले २५ हजार मेट्रिक टन कोइला प्रतिस्थापन हुन सक्ने उनको भनाइ छ । नेपालका अनुसार अहिलेको हिसाबमा नेपाल भित्रिने ५० प्रतिशत कोइला प्रतिस्थापनका लागि यस्ता २० ओटा उद्योग खुल्नुपर्छ । एउटा हरित कोइला उद्योगले वर्ष दिनमा ६४ करोड रूपैयाँ बाह्य मुलुकमा जानबाट रोक्न सक्ने उनको दाबी छ ।

एउटा हरित कोइला उद्योगले वर्ष दिनमा ६४ करोड रूपैयाँ विदेशिनबाट रोक्न सक्ने बकस रिन्युएबल कम्पनी लिमिटेडको भनाइ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनमा एक अर्ब ७९ करोड १५ लाख ८६ हजार रूपैयाँ बराबरको ६९ हजार ६ सय ८९ मेट्रिकटन कोइला आयात भएको देखिन्छ । नेपालमै उत्पादन भएको हरित कोइलाको प्रयोगले उद्योगधन्दाका लागि आवश्यक ठूलो परिमाणमा विदेशबाट आयात हुने कोइला प्रतिस्थापन गर्दै व्यापारघाटा कम गर्न समेत सहयोग मिल्नेछ ।

उद्योगलाई आवश्यक पर्ने कोइला विदेशबाटै आयात गर्नुपर्ने बाध्यता भएकाले महामारी, नाकाबन्दी जस्ता संकटमा कोइला नआउँदा त्यसले नेपाली उद्योगलाई ठूलो घाटा हुने गर्छ । सन् २०१५ मा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि भारतबाट डिजेल, पेट्रोल, एलपी ग्यास, कोइलालगायत सबै किसिमका इन्धनको आयात घटेको थियो । जसले गर्दा त्यसबेला नेपालीले ठूलो ऊर्जा संकट भोग्नुपरेको थियो । 

त्यही समस्यालाई मध्येनजर गर्दै आफ्नै मुलुकमा ऊर्जा उत्पादन गर्न सके संकटको अवस्था आउने थिएन भन्ने सोच पलाएपछि कम्पनीको टिमले चीन र भारतका विभिन्न शहरको भ्रमण गरी हरित कोइला उत्पादन गर्नेबारे अध्ययन गरेको थियो । अध्ययनपछि नेपालमा पहिलोपटक हरित ऊर्जा उत्पादन गर्ने कम्पनी स्थापना भएको हो ।

बकसले उत्पादन गरेको हरित कोइला अहिले परीक्षणको रूपमा विभिन्न उद्योगमा प्रयोग भइरहेको छ । यसको बजार मूल्य अहिले प्रतिकिलो २५ रूपैयाँ छ । उत्पादन खर्च प्रतिकिलो न्यूनतम १८ देखि २१ रूपैयाँ पर्छ । आयातित कोइलाको भन्सार मूल्य २५ रूपैयाँ ७० पैसा छ भने बजार मूल्य ३० देखि ३५ रूपैयाँ पर्न आउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)