ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगुरो र जिब्रे बेचेर आम्दानी

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट। जंगलमा पाइने निगुरो, जिब्रे लगायतका जंगली तरकारी बेचेर रौतहटका ग्रामीण भेगका स्थानीयले आम्दानी गर्दै आएका छन् । विशेषगरी वर्षाको समयमा जंगलमा पाइने निगुरो, जिब्रे लगायत तरकारी विक्री गरेर ग्रामीण महिला र बालबालिकाले आम्दानी गर्दै आएका हुन् । चन्द्रपुर नगरपालिका–८ बेतौनाकी १४ वर्षीया राधा पटेल अभिभावक र छिमेकीसँग जंगलमा गएर निगुरो र जिब्रे टिपी बजारमा विक्री गर्दै आएको बताउँछिन् । विद्यालय बिदा भएको समयमा निगुरो र जिब्रे टिपी बजारमा विक्री गर्दा शैक्षिक सामग्री लगायतको खर्च टर्दै आएको उनको भनाइ छ ।

उनको टोलमा उनीमात्र होइन, अन्य बालबालिका पनि विद्यालय बन्द रहेको समयमा निगुरो र जिब्रे टिप्न जाने गरेका छन् । अहिले निगुरो र जिब्रे पाइने समय भएकाले अधिकांश बालबालिका र अभिभावक यसको खोजीमा जाने गरेको स्थानीय बलराम बस्नेतले बताए । यसबाट भएको कमाइले बालबालिकाले पढाइ खर्च जुटाउन सघाउ पुग्ने उनको भनाइ छ । ‘अभिभावकलाई पनि घरखर्च चलाउन सहयोग पुग्ने हुँदा निगुरो, जिब्रे लगायत जंगली तरकारीको खोजीमा स्थानीयको आकर्षण देखिएको छ,’ उनले भने । चन्द्रनिगाहपुर बजारमा निगुरो र जिब्रे प्रतिमुठा २५ देखि ३० रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)