ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समाज लघुवित्तका आईपीओ खरीदकर्ता नै प्रतिकित्ता २६ रुपैयाँ नोक्सानीमा

२०८० भदौ, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य अंकित मूल्यभन्दा पनि कम कायम भएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँ कायम भएको हो । अर्थात् कम्पनीको आईपीओ खरीद गरेका लगानीकर्ता पनि यतिबेला प्रतिकित्ता २६ रुपैयाँ घाटामा छन् ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले अंकित मूल्यभन्दा कमकै खुला मूल्य तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ७२ रुपैयाँदेखि अधिकतम २०६ रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको थियो । तर, कम्पनीको पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो ।

यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री भएको एक साताभित्र बाँडफाँट गर्न सफल कम्पनीको आईपीओ ८ हजार ७० जनाले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

आईपीओ बाँडफाँटपछि सूचीकृत भएकै दिन २०७७ असोज ८ गतेदेखि कम्पनीको शेयर कारोबार मर्जर प्रयोजनका कारण रोक्का भएको थियो । स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।

समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँग मर्जरका लागि २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेको थियो । यी दुई कम्पनीबीच समयमै मर्जर प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म शेयर कारोबार रोक्का हुन पुगेको थियो ।

अन्तिममा मर्जर प्रक्रिया भाँडिएसँगै नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीका आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार २०८० असार ३१ गतेदेखि फुकुवा गरिएको हो ।

२०७७ असोज ८ गतेदेखि रोक्का भएको कम्पनीको शेयर कारोबार २०८० साउन १ गतेदेखि शुरू भएको हो । 

शेयर कारोबार रोक्का रहेकै अवस्थामा कम्पनीले २०८० असार १७ गते आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित उक्त लाभांश कम्पनीले साउन ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । पाँचौ साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २१ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको थियो । साथै बोनस शेयर प्रयोजनका लागि कम्पनीको मूल्य समायोजनसमेत भएको थियो ।

नेप्सेले बुक क्लोजको आधारमा बुक क्लोजको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरी १४ दशमलव २५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ६५ रुपैयाँ ५६ पैसा तोकेको थियो । समायोजनपछिको मूल्यको तुलनामा भने कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिन बढेको हो ।

वित्तीय अवस्थालाई हेर्दा कम्पनी नाफामै छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले ७२ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको खुद नाफामा कमी आएको हो ।

गत वर्ष कम्पनीले ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ । कर्जा सापटी २२ करोड ३५ लाख रुपैयाँभन्दा बढी लिएको कम्पनीको निक्षेप संकलन भने १४ करोड ४६ लाख रुपैयाँभन्दा बढी छ ।

कम्पनीले १२ महीनामा ३९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ३१ पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)