ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४३ लघुवित्त कम्पनीको शेयर मूल्य हजारमुनि, साढे ३१ सय पुगेको लघुवित्तको शेयर ११ सयमा झर्‍यो

२०८० भदौ, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय अधिकांश लघुवित्त कम्पनीहरूको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ कम्पनीहरूमध्ये ४३ कम्पनीको शेयर मूल्य घटेर हजारमुनि आएको छ ।

तीमध्ये समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा सस्तो छ । कम्पनीको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू. ७४ कायम भएको छ । यस आधारमा कम्पनीका आईपीओ खरीदकर्ता नै २६ रुपैयाँ नोक्सानीमा छन् ।

शेयर मूल्य सर्वाधिक कम भएका कम्पनीको सूचीमा दोस्रोमा ग्रामीण विकास लघुवित्त छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८४ छ । 

सूचीकृत कम्पनीहरूमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा महँगो छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २५ दशमलव १ छ । शेयर मूल्य सर्वाधिक महँगो भएका कम्पनीको सूचीमा दोस्रोमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८०३ दशमलव ५ छ । 

४३ कम्पनीको एक वर्षअघि र हालको शेयर मूल्य र फरक प्रतिशत

एक वर्षमा जाल्पा सामुदायिकको शेयर ३१ सयबाट ११ सयमा झर्‍यो

एक वर्षमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ६३ दशमलव ८१ प्रतिशत घटेको छ । सन् २०२२ सेप्टेम्बर ५ मा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार १५० रहेकोमा २०२३ सेप्टेम्बर ५ मा प्रतिकित्ता रू. १ हजार १४० मा झरेको हो ।

२० % भन्दा बढीले घट्यो समूहगत परिसूचक

पछिल्लो एक वर्षमा लघुवित्त समूहको समूहगत परिसूचक २० प्रतिशतभन्दा बढीले घटेको छ । सन् २०२२ सेप्टेम्बर ५ मा लघुवित्त समूहको परिसूचक ४ हजार ४७३ दशमलव ०२ रहेकोमा २०२३ सेप्टेम्बर ५ मा ३ हजार ५६६ दशमलव ३१ मा झरेको हो ।

किन घट्यो लघुवित्तमा आकर्षण ?

एक वर्षअघि भने दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढी थियो । यो क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बजार बढ्दा उच्च दरमै बढ्ने गरेकाले कम मूल्यमा शेयर खरीद गर्दा पनि भविष्यमा राम्रो नाफा कमाउन सकिने, अरु सेक्टरका कम्पनीहरूको तुलनामा लघुवित्त कम्पनीहरूले लाभांश पनि राम्रो दिनेलगायत त्यतिबेला लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीहरूको शेयरमा देखिएको जानकार बताउँछन् ।

तर, नेपाल राष्ट्र बैंकले निर्देशिकामार्फत १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीलाई बढी हुने लाभांशको कुल ९५ प्रतिशत रकम विभिन्न कोषमा जम्मा गर्नुपर्ने प्रावधान ल्याएपछि लघुवित्त कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको हो । 

राष्ट्र बैंकको संशोधित एकीकृत निर्देशिकामा १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा शेयर) प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा बढी हुने लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।  

मौद्रिक नीतिपछि पनि घट्यो बजार

मौद्रिक नीति सार्वजनिकपछि शेयर बजार २० प्रतिशतभन्दा बढीले घटेको छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले पनि बजार घटेको जानकारहरू बताउँछन् । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)