विराटनगर । विराटनगर नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदर लगायत समस्याले उद्योगी व्यवसायी क्षेत्र पीडित बन्नुपरेको बताएका छन् ।
मंगलवार विराटनगरमा अन्तरराष्ट्रिय वित्त नियोग (आईएफसी)द्वारा आयोजित राउण्ड टेबल कार्यक्रममा अध्यक्ष राउतले चर्को लोडसेडिङ, भारतको नाकाबन्दी लगायत राजनीतिक अस्थिरताले थलिएर केही अघि बढेको निजीक्षेत्र कोभिड–१९ को महामारी र युक्रेन संकटबाट झन् प्रभावित बनेको बताएका हुन् । बैंकको उच्च ब्याजदर लगायतका थप समस्याले निजीक्षेत्र र मुलुकको अर्थतन्त्र धराशयी हुन थालेको उनले बताए ।
औद्योगिक क्षेत्रलाई अघि बढाउन प्रतिस्पर्धी क्षमता विकास, बजारीकरण, तहगत सरकारको राजस्व नीति तथा प्रशासन, लगानीको वातावरण, ऊर्जाको सहज आपूर्ति, निर्यात व्यापार विरोधी अर्थतन्त्र, पूर्वाधा विकास र भारतसँगको खुला सीमाको समस्या प्रमुख समस्या रहेको महासंघ, कोशी प्रदेशले बताएको छ । कार्यक्रममा आईएफसीका नेपाल कार्यालय प्रमुख बाबाकोर एस फेईले नियोग निजीक्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।
सरकारले सार्वजनिक गरेको आर्थिक गणना २०७५ अनुसार कोशी प्रदेशमा १ लाख ६८ हजार ५१८ ओटा उद्योग व्यवसाय सञ्चालनमा छन्, जसमध्ये मोरङ र सुनसरीमा मात्रै ६६ हजार ७८३ ओटा उद्योग सञ्चालित छन् । पछिल्लो १० वर्षमा मात्रै कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा २५० भन्दा बढी नयाँ उत्पादनमूलक उद्योग उद्योग विभागमा दर्ता भइसकेका छन् ।
महासंघ कोशी प्रदेशले कृषि, वन, खानी तथा पशुपालनमा आधारित कच्चा पदार्थको उपलब्धता बढाउन सकिने खालका उद्योग तथा ती वस्तुको प्रशोधनमा केन्द्रित उद्योग स्थापना गर्न सकिने बताउँदै आएको छ । कार्यक्रममा महासंघका पदाधिकारी, मोरङ–सुनसरी औद्योगिक क्षेत्र, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालगायत उद्योगी व्यवसायी संगठन एवं प्रतिष्ठानका प्रतिनिधि लगायतको सहभागिता थियो ।