ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेश पठाउन नक्कली विज्ञापन

२०८० भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युवायुवतीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्न नक्कली विज्ञापन गर्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहले क्यानाडामा हुँदै नभएको काम छ भनी विज्ञापन गरी एक युवासँग ३४ लाख ५७ हजार रुपैयाँ उठाएपछि यस्तो तथ्य फेला परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानाडा जान श्रम भिसा पाइने भनी गरिएको नक्कली विज्ञापनमा फस्दा पीडितले त्यति रकम गुमाउन पुगेका हुन् ।

‘विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानाडामा क्यासियरको काम लगाइदिने र त्यसबापत मासिक रू. ५ लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइयो,’ रेग्मीले भने, ‘क्यानाडा जान आईएलटीएस सर्टिफिकेट, राहदानी र शैक्षिक योग्यताको प्रमाणपत्र पठाइदिनुहोस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो । त्यसपछि पीडितले कागजात पठाएका थिए ।’

पीडितलाई लोभ्याएर पटक पटक गरी रू. ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको र आरोपी पक्राउ परिसकेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कानूनी कारबाही शुरू भएको प्रहरीले बताएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा परेर युवायुवती ठगिने क्रम बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार एक वर्षमा वैदेशिक रोजगारीको प्रलोभन र सम्बन्धित कार्यसँग जोडिएका २ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)